चुनावी सरगर्मी बढेसँगै माप्य पालिका अध्यक्षमा नदोहोरिने बुद्धिकिरणको संकेत


काठमाडौं – सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई पुनः गाउँपालिका अध्यक्षका लागि नदोहोरिने मनस्थितिमा देखिएका छन् । स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते हुँदै छ ।

निर्वाचन आउन ३४ दिन मात्रै बाँकी रहँदा गाउँ गाउँमा चुनावी सरगर्मी बढिसकेको छ भने अधिकांश स्थानीय तहमा यस अघिकै जनप्रतिनिधिहरु दोहोरिने कसरतमा छन् । ती जनप्रतिनिधिहरुको लबिङ पनि जिल्ला देखि केन्द्रीय तहसम्मका नेताहरुलाई रिझाउनमा उद्धत देखिन्छ ।

तर सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई नदोहोरिने मनस्थितिमा देखिएका छन् । उनका निकटस्थहरुका अनुसार सकेसम्म नयाँ अनुहारलाई प्राथमिकता दिऔँ भन्ने उनको मनसाय छ । उनी निकट एक स्थानीय नेताले भने, ‘जिल्लाका अन्य स्थानीय तहका जनप्रतिनिधिहरु आगामी निर्वाचनमा पनि उमेदवार बन्नका लागि लबिङ गरिरहेको देखिन्छ, तर उहाँले चाहीँ टिकटका लागि खासै चासो देखाइरहनुभएको छैन ।’

गाउँपालिका अध्यक्ष राईले पनि गाउँपालिकाको नयाँ कार्यकालका लागि खासै ध्यान दिन नपाएको बताए । उनले भने, ‘म त अहिले पूरा कार्यकाल कसरी सफल बनाऔँ भनेर नै गाउँपालिकाको नियमित काममा सक्रिय छु, नयाँ कार्यकालका लागि दोहोरिने बारे त मैले केही पनि साँचेको छैन । मेरो विचारमा नयाँ अनुहारलाई नै प्राथमिकता दिऔँ भन्ने छ, हेरौँ जनताले के चाहन्छन् ।’

उनी निकटकाहरुले बताए अनुसार वितेको ५ वर्ष अवधीमा केही विवादकाबीच थुप्रै योजनाहरु पूरा गरेका छन् । सकेसम्म प्रदेश सभा सदस्यकै्र लागि लबिङ गर्ने नभए अबको ५ वर्ष पार्टीका लागि काम गर्ने उनको योजना छ । गाउँपालिका अध्यक्षमा दोहोरिने चाह भने उनले देखाएका छैनन् ।
सोलुखुम्बुको ८ वटा स्थानीय तहमध्य अन्य स्थानीय तहहरुमा प्रमुख तथा उपप्रमुखहरु दोहोरिने लबिङमा छन् ।

प्रतिक्रिया