प्रचण्ड–नेपाल समूहद्वारा आन्दोलन घोषणा गर्दै


काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्ड–नेपाल समूहले आन्दोलन घोषणाको तयारी गरेको छ । आन्दोलन परिचालनका लागि गठन गरिएको समितिले दिउँसो पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ ।

पार्टीको आन्तरिक विवाद पार्टीभित्रै समाधान गर्ने भन्दा पनि संसद नै विघटन गरेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको कदमलाई निरंकुश र असंवैधानिक भन्दै प्रचण्ड–नेपाल समूहले आन्दोलनका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा आन्दोलन परिचालन समिति गठन गरेको थियो ।

प्रधानमन्त्रीको उक्त कदम अन्य दलले पनि विरोध गरेपछि संयुक्त आन्दोलन गर्ने तयारीमा जुटेको प्रचण्ड–नेपाल समूहलाई नेपाली कांग्रेसले तत्कालै संयुक्त आन्दोलनमा साथ नदिने भएपछि दोस्रो चरणको आन्दोलनमा जान लागेको हो ।

उता कांग्रेसको भने प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा रहेकाले सर्वोच्चको आदेश अनुसारको कदम चाल्ने तयारी छ ।

दोस्रो चरणका आन्दोलनमा स्थानीय तह हुँदै प्रदेश र केन्द्रसम्म जनपरिचालन गर्ने जनाइएको छ ।

प्रतिक्रिया