सुनसरीका ४४ मतदानस्थल अति संवेदनशील


सुनसरी – सुनसरीका ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको मतदानस्थलको वर्गीकरणअनुसार ४४ वटा मतदानस्थल अति संवेदनशील रहेका हुन् ।

जिल्लाका कूल १६६ वटा मतदानस्थलमध्ये ४४ वटा मतदानस्थल अति संवेदनशील, ८० वटा संवेदनशील र बाँकी सामान्य रहेका सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवले जानकारी दिए । अति संवेदनशील मतदानस्थलमा अन्य ठाउँको भन्दा थप र ३ घेरामा सुरक्षाकर्मी परिचालन गर्ने योजनाअनुसार अघि बढेको उनले बताए ।

अति संवेदनशील मतदानस्थलमा पहिलो घेरामा म्यादी र जनपथ प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली र बाहिरी घेरामा नेपाली सेना खटिने उनले बताए । साथमा राष्ट्रिय अनुसन्धान विभागबाट खटिनेछन् ।

स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा सुनसरीमा मतदानस्थलको अनुगमन शुरू गरेको प्रजिअ यादवले बताए । सुनसरीको कोसी, भोक्राहा नरसिंहलगायत दक्षिणी क्षेत्रको मतदानस्थलको अनुगमन गरिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीका सूचना अधिकारी अजय मिश्रले जानकारी दिए ।

प्रतिक्रिया