कर्णाली प्रदेशको विकास खर्च निराशाजनक, सात महिनामा ९ प्रतिशत मात्र


सुर्खेत– चालु आर्थिक वर्षको पहिलो ७ महिनाम कर्णाली प्रदेशको विकास खर्च निराशाजनक देखिएको छ । आर्थिक वर्षको साउन देखि माघ सम्ममा प्रदेश सरकारले विकास तर्फ जम्मा ९  प्रतिशत मात्र बजेट  खर्च गरेको हो । प्रदेशले चालु आवमा पुँजीगत खर्चतर्फ २२ अर्ब ११ करोड ६४ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये हालसम्ममा १ अर्ब ९३ करोड १४ लाख अर्थात ९ प्रतिशत मात्रै खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण शाखाको तथ्यांकमा उल्लेख छ ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीदेखि वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाहीले पुँजीगत खर्च बढाउने पटक पटक निर्णय गरेपनि कार्यान्वयन नहुन सकेको छैन । विकास बजेटको खर्च बढाउन, पूर्वाधार विकासलाई गति दिन कर्णालीका मन्त्रालय र कर्मचारीबीच सम्झौता भएपनि विकास खर्चको अवस्था निरासाजनक देखिएको छ ।

चालु आर्थिक वर्षको सात महिनामा प्रदेश सरकारले कुल साढे १२ प्रतिशत बजेट खर्चेको छ । त्यसमा विकास तर्फको बजेट खर्च जम्मा नौ प्रतिशत मात्र रहेको छ । कुल ३६ अर्ब ५७ करोड नौ हजार सातसय ७१ रुपैयाँ बजेट मध्ये सरकारले हालसम्म साढे १२ प्रतिशत अर्थात चार अर्ब ५५ करोड ६४ हजार दुईसय ५८ रुपैयाँ मात्रै खर्च गरेको हो ।

विकासे अड्डाको रुपमा चिनिने भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले नै विकास बजेट खर्च गर्न सकेको छैन । भौतिक मन्त्रालयले हालसम्म साढे आठ प्रतिशत बजेट खर्च गरेको छ । त्यस्तै सामाजिक विकास मन्त्रालयले विकास तर्फको दुई अर्ब ३३ करोड ६४ लाख ७८ हजार बजेट मध्ये हालसम्म १९ प्रतिशत, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले झण्डै चार प्रतिशत बजेट खर्च गरेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले साढे २५ प्रतिशत, उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालयले ७ प्रतिशत र जलस्रोत तथा उर्जा विकास मन्त्रालयले पनि न्यून बजेट खर्च गरेको हो । यस्तै भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १६ प्रतिशत र आन्तरिक मामिला तथा कानून मन्त्रालयले २७ प्रतिशत विकास तर्फको बजेट खर्च गरेका छन् ।

प्रतिक्रिया