नेष्डो लघुवित्तको आइपिओ आज बाँडफाँट हुँदै, २५ लाखकाे हात खाली हुने


काठमाडौं – नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिउसो १ बजे येलो पेगोडा होटल, जमल काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको हो । कम्पनीको आईपीओमा करिब २६ लाखले आवेदन दिएका छन् ।

मागभन्दा ३८ गुणा आवेदनपरेको यस कम्पनीको आईपीओ ७७ हजार ४५६ जनाले मात्र पाउनेछन् ।  बाँकी २५ लाखको हात खाली हुनेछ । कम्पनीले एक सय अंकित मूल्यमा आठ करोड २८ लाख ७५ हजार मूल्य बराबरको आठ लाख २८ हजार ७५० कित्ता आइपिओको बिक्री खुला गरिएकाे थियाे । सर्वसाधारणका लागि  ७ लाख ७४ हजार ५६३ कित्ता मात्र छुट्याइएकाे थियाे ।

कम्पनीको  यो आईपीओलाई इक्रा रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बि प्लस रेटिङ्ग प्रदान गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी रू. १७ करोड २१ लाख २५ हजार रहेको छ । आईपीओ बाँडफाँटपश्चात् यो पूँजी रू. २५ करोड ५० लाख पुग्नेछ । हाल संस्थापक तर्फ ६७ दशमलव ५० प्रतिशत स्वामित्व रहेको कम्पनीले सर्वसाधारणमा ३२ दशमलव ५० प्रतिशत शेयर बाँडफाँट गर्नेछ ।

प्रतिक्रिया