पोखरामा नेपाली बालिकामाथि जबरजस्ती करणी गर्ने चिनियाँ नागरिक जेल चलान


पोखरा – नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना चिनियाँ नागरिकलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ । ३३ वर्षका चिनियाँ नागरिक ली झियुआनले विवाह गर्छु भनी १८ वर्षीय नाबालिकलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।

कास्की प्रहरीले गत माघ २४ गते उक्त घटनाबारे जानकारी पाएको थियो । उनले पछिल्लोपटक माघ २ गते राती ८ बजे पीडितको डेरामा नै गएर जबरजस्ती करणी गरेको पाइएको प्रहरीले जनाएको छ ।नाबालिकका तर्फबाट पीडितका आमाले जाहेरी दिएपछि सोही दिन नै झियुआनलाई पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

झियुआनलाई कास्की प्रहरीले फागुन १५ गते सरकारी वकिल कार्यालयमा बुझाएको थियो । उनीमाथि मुलुकी अपराध सहिता २०७४ को दफा २१९ (३) बमोजिम कैद सजायको अभियोग मागदाबी गरिएको थियो ।
ऐनको यो उपदफाअनुसार आरोप पुष्टि भएमा ७ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया