कुनै भ्रममा नपरी प्रदेश १ को नाम कोशी राख्नुपर्छ : ओली


झापा – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोशी’ राख्दा उपयुक्त हुने सुझाव दिएका छन्।

शनिवार बिर्तामोडमा आयोजित प्रेस चौतारी नेपाल प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै ओलीले मानव सभ्यताभन्दा अघिदेखि नै कोशी नदीको उत्पत्ति भएका कारण प्रदेश १ को नाम ‘कोशी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिएका हुन्।

‘कोशीले पुरानो सभ्यता र परम्परा बोकेका छ। यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन्‚’ ओलीले भने‚ ‘जातजाति पछि आएका हुन्। जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामाकरण कोशी गर्दा हुन्छ।’

उनले अर्को प्रसंगमा नेपाली कांग्रेस एमालेसँग लड्ने पाँच घटकमध्ये एक भएको टिप्पणी गरे। वर्तमान गठबन्धनमध्येका कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट नगरेको उल्लेखगर्दै अध्यक्ष ओलीले लोकतन्त्रका निम्ति लामो सङ्घर्ष गरेको कांग्रेसले दक्षिणपन्थीको वैशाखी टेक्नु दुःखद् भएको आरोप लगाए।

प्रतिक्रिया