

सौताको हत्यामा संलग्न आरोपित नारु कारागार चलान

बैतडी – सौताको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी बैतडीको दोगडाकेदार गाउँपालिका–२ मल्लागाउँकी ५५ वर्षीया नारु महरालाई कारागार चलान गरिएको छ।
बुधबार जिल्ला अदालत बैतडीले महरालाई पुर्पक्षका लागि कारागार चलान गरेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्शन खड्काले जानकारी दिए।
गत १८ माघमा उनकी सौता ४० वर्षीया चन्द्रा महरा घर नजिकैको बाँझो घर मृत फेला परेकी थिइन्। त्यसपछि हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
पक्राउपछि उनले हत्यामा आफ्नो संलग्नता रहेको समेत स्वीकारेको प्रहरीले जनाएको छ । मृतक चन्द्राको घाँटी र मुखमा चोट थियो। नारुले घटनाअघि पनि चन्द्रालाई कुटपिट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उनीहरूको श्रीमानको यसअघि नै मृत्यु भइसकेको छ। नारुका कुनै सन्तान छैनन् भने मृतक चन्द्राका एक छोरा र एक छोरी छन्।

