दधिराज सुवेदी पुरस्कार घोषणा


काठमाडौं – दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले भाषाविद चूडामणि बन्धूलाई यसवर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ दिने निर्णय गरेको छ। त्यस्तै बरिष्ठ पत्रकार भूषण दाहाललाई ‘दधिराज सुवेदी राष्ट्रिय पत्रकरिता पुरस्कार’ दिने निर्णय गरेको छ।

प्रतिष्ठानका अध्यक्ष प्राज्ञ बिवश पोखरेलको अध्यक्षतामा बसेको बैठकले पुरस्कारसहित बन्धुलाई ५१ हजार रूपैयाँ र दाहाललाई २५ हजार रूपैयाँ दिने निर्णय गरेको हो।

साहित्यकार प्राज्ञ दधिराज सुवेदीको सम्मानमा उनैका छोराहरू शरदराज र रुपकराजले प्रतिष्ठान स्थापना गरेका हुन्। प्रतिष्ठानले हरेक वर्ष दुई जनालाई पुरस्कृत गर्दै आएको छ।

पचास वर्षदेखि नेपाली भाषा, साहित्य र कला संस्कृतिको संरक्षण, स्रष्टाको सम्मानमा लागेका सुवेदीको नाममा छोरा शरदराज र रुपकराजले बुबाको नाममा रु १५ लाखको कोष स्थापना गरी उक्त कोषको व्याजबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गर्दै आएका छन्।

यस वर्षको पुरस्कार आगामी चैत महिनामा एक समारोहबीच प्रदान गरिने प्राज्ञ दधिराज सुवेदीका छोरा शरदराज सुवेदीले अनलाइनन्युज७सँगको कुराकानीमा भने।

प्रतिष्ठानले यसअघि पुरस्कार प्रा. डा. गोविन्दराज भट्टराई, प्रा.डा. अभि सुवेदी, प्रा.डा. माधवप्रसाद पोखरेल, डा. विष्णुविभु घिमिरे, एस पी कोइरालालाई प्रदान गरिसकेको छ।

त्यसैगरी पत्रकारहरू हरिबहादुर थापा, शिववहादुर कार्की, मोहन भण्डारी र किशोर नेपाललाई समेत प्रदान गरिएको छोरा शरदराजले जानकारी दिए।

प्रतिष्ठानले २०७७ मा साहित्यतर्फको पुरस्कार साहित्यकार एवं कवि एस पि कोइराला र पत्रकारिता पुरस्कार पत्रकार हरिहर बिरहीलाई प्रदान गर्ने निर्णय गरेको थियो।

प्रा. डा. सुवेदीका नेपाली लिट्रेचरः ब्याकग्राउण्ड एन्ड हिस्ट्री, विश्व साहित्यको ऐतिहासिक रूपरेखा, पाश्चात्य काव्य सिद्धान्त, अग्निकथा, निबन्ध र टुँडिखेल, जापानी हाइकुः हिजो र आजलगायत नाटक, निबन्ध, कविता समालोचना तथा अनुवाद विधाका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन्।

प्रतिक्रिया