

सुनसरीका सामुदायिक विद्यालय बन्द

सुनसरी – सरकारले तोकेको सेवासुविधा नदिएको भन्दै सुनसरीको सदरमुकाम इनरुवाका बालबालिका केन्द्रका शिक्षिका र कर्मचारीले नगरपालिकाभित्रका सबै सरकारी विद्यालय बन्द गराएका छन् ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा शिक्षिका र कर्मचारीले खाइरहेको तलबमा दुई हजार सरकारले थप गरिदिने र बाँकी सात हजार स्थानीय सरकारले व्यवस्था गर्नुपर्ने भने पनि तोकिएको सुविधा नपाएको भन्दै उनीहरूले विद्यालय नै बन्द गराएका हुन् ।
नगर प्रमुखलाई पटकपटक ज्ञापनपत्र बुझाउँदा पनि बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक सोनु मगर ढुंगेलले बताइन् । उनले आन्दोलनको बेवास्ता गरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिइन् ।
त्यस्तै आन्दोलनरत शिक्षिका सरस्वती डाँगीले अन्य जिल्लामा संघीय सरकारको नियम लागू हुने तर इनरुवा नगरपालिकामा नहुनेले घर नजिकको सरकारप्रति विश्वास हराउन थालेको बताइन् । गत साउनदेखि नै पाउनुपर्ने रकम आठ महिना बितिसक्दा पनि नपाउँदा दुस्ख व्यक्त गरिन् । उनले माग पूरा नभए अझ सशक्त आन्दोलन गर्नेसमेत बताइन् ।

