
साढे चार लाख नगदसहित ३४ जना जुवाडे पक्राउ
काठमाडौं – काठमाडौं र ललितपुरबाट जुवा खेलिरहेको अवस्थामा ३४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा करिब साढे ४ लाख रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
काठमाडौं महानगरपालिका-१६ नयाँबजारस्थित गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा नौजनालाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। धादिङको गजुरी गाउँपालिका-६ घर भई नयाँबजारमा पसल गर्दै आएका भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले उनीहरूलाई ३० हजार ३६० रुपैयाँसहित नियन्त्रणमा लिएको हो।
यस्तै‚ ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल ओचु हाईटस्थित विनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ। महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको टोलीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५९० रुपैयाँसहित नियन्त्रणमा लिएको हो।



कागजपत्र |
