न्यायाधीशकाे काज सरुवा गर्न न्याय परिषद्को बैठक बस्दै


काठमाडौं – कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले आज (बुधबार) न्याय परिषद्को बैठक बोलाएका छन् । विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने प्रयोजनका लागि परिषद्को बैठक डाकिएको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार बुधबार अपराह्न ४ बजेका लागि परिषद्को बैठक बोलाइएको छ । न्यायधीशहरुको सरुवा लगायत त्यसबाहेक विविध विषयमा पनि छलफल हुने स्रोतको भनाई छ ।

विशेष अदालतमा गत साउन महिनादेखि अध्यक्षसहित ४ न्यायाधीशको पद रिक्त छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत साउन २९ गते विशेष अदालतमा कामकाज गरिरहेका अध्यक्ष प्रेमराज कार्कीसहित न्यायाधीशहरू बालेन्द्र रुपाखेती, शान्तिसिंह थापा र चन्द्र बहादुर सारुलाई अन्य अदालतमा सरुवा गरेपछि विशेष अदालतमा दुई जना न्यायाधीशले मात्रै कामकाज गरिरहेका छन् । अहिले विशेष अदालतमा अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेय मात्रै न्यायाधीशका रूपमा कार्यरत छन् ।

विशेष अदालतमा उच्च अदालतका न्यायाधीशलाई काज सरुवा गर्ने कानुनी व्यवस्था छ । तर विशेष अदालतमा काज सरुवा गर्नका लागि न्याय परिषद्बाट सिफारिस हुनुपर्ने भएकाले परिषद्को बैठक बस्न नसक्दा विशेष अदालतमा न्यायाधीश पठाउन सकिएको थिएन । यही विषयलाई सम्बोधन गरी न्याय परिषद्बाट सिफारिस गराउन कामु प्रधानन्यायाधीश कार्कीले बुधबार न्याय परिषद्को बैठक बोलाएका हुन् ।

प्रतिक्रिया