निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई कांग्रेस प्रवक्ताको आह्वान


नुवाकोट – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन्।

नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ को क्षेत्रीय कार्यालय र क्षेत्र नं १ को प्रदेश (ख)को प्रदेश कार्यालयको आज छहरे बजारमा सयुक्तरूपमा उद्घाटन गर्दै प्रवक्ता डा महतले पार्टी अधिवेशनका क्रममा देखिएका तिक्तता बिर्सिएर आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनतर्फ लाग्न निर्देशन दिए।

‘पार्टीमा हालै सम्पन्न भएका आन्तरिक प्रतिस्पर्धाका रूपमा आसन्न निर्वाचनलाई लिनुहुन्न”, उनले भने, “पार्टीको निर्माण निर्वाचन जितेर सत्तामा पुग्नु भएकाले आम निर्वाचनमा खुट्टा कमायौँ भने क्लबजस्तो मात्रै हुन्छौँ, जनताको सेवाका लागि सत्तामा पुग्न आसन्न निर्वाचनमा जीत प्राप्त गर्नतर्फ लाग्नुपर्छ ।’

वडा तहदेखि नै सङ्गठन बलियो बनायो भने पार्टीको संरचना पालिका हुँदै जिल्लासम्म बलियो बनाउन सकिनेतर्फ स्मरण गर्न कार्यकर्ताको ध्यनाकर्षण गराए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य बहादुरसिंह लामा र रामहरि खतिवडाले कांग्रेसको सङ्गठन बलियो भए पनि पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर अघि बढ्न पार्टीले गम्भीररूपमा लिएको बताए ।

नेपाली कांग्रेस नुवाकोटको प्रतिनिसभा क्षेत्र नं १ क्षेत्रीय प्रदेशको कार्यालय स्थापना भएसँगै पार्टी गतिविधि अघि बढाउन, बैठक सञ्चालन, सम्पर्क तथा जनताको सेवा प्रवाह, पार्टीसँग सम्बन्धित कागजातको सुरक्षालगायतमा सहयोग पुग्ने विश्वास लिइएको क्षेत्रीय सभापति धुव्र श्रेष्ठले बताए ।

प्रतिक्रिया