एमसीसीका विषयमा देउवा–प्रचण्ड टसकामस!

देउवाले स्पष्ट सन्देश दिए, ‘एमसीसी शुक्रबार संसदमा टेवल हुन्छ’


काठमाडौं – अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसदबाट अनुमोदन गर्ने सम्बन्धमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति बन्ने अवस्था न्युन बन्दै गएको छ।

बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको देउवा र प्रचण्डबीचको बैठकमा दुवै नेता आफ्नो पुरानै अडानमा टसकामस भएपछि सहमति टाढिएको हो।

‘आजको बैठकमा पनि प्रचण्डले एमसीसी अनुमोदन संघको निर्वाचनपछि सारौं भन्नुभयो। उनले कुनै पनि अवस्थामा अहिलेको संसदबाट अनुमोदन गर्नु नहुने धारणा राख्नुभयो,’ बालुवाटार स्रोतले भन्यो।

जवाफमा देउवाले आफ्नो पार्टीले अनुमोदन गर्ने निर्णय गरिसकेका कारण अब पछि धकेल्न नमिल्ने पुरानै अडान दोहो¥याएका थिए।

‘हाम्रो पार्टीले निर्णय गरीसकेको छ, अब पछि हट्न सकिँदैन। भोलीको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल हुन्छ,’ प्रधानमन्त्री देउवाको भनाई उद्वृत गर्दै स्रोतले भन्यो।

सरकारले बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी टेवल गर्ने तयारी गरेको थियो। प्रतिनिधिसभा बैठकअघि देउवा, पचण्ड र नेकपा एस एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको छलफलमा प्रचण्ड र नेपालले अहिलेकै अवस्थामा एमसीसी अनुमोदन गर्न नसकिने बताएपछि देउवा पछि हटेका थिए।

त्यसपछि बिहीबार विहान बसेको बैठकमा पनि देउवा र प्रचण्डबीच सहमति जुट्न सकेन।

एमसीसीका विषयमा बिहीबार बेलुकी पाँच बजे सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच बैठक बस्दैछ।

एमसीसीलाई संसदबाट अनुमोदन गराउने विषयमा सत्तारुढ गठबन्धनबीच मतभिन्नता बढेको छ।

एमसीसीका विषयमा सत्तारुढ पाँच दलमा कांग्रेस एक्लिएको छ। कांग्रेस एमसीसीलाई अहिलेकै अवस्थामा हुबहु अनुमोदन गर्ने पक्षमा छ भने अन्य चार दल संशोधनसहित अनुमोदन गर्ने अडानमा छन्।

प्रतिक्रिया