गण्डकीमा फागुन १ गतेबाट सवारीमा नयाँ भाडा दर लागु


पर्वत – गण्डकी प्रदेश सरकारले प्रदेशमा चल्ने विभिन्न सवारी साधनहरुको लागि भाडा दर समायोजन गरेको छ।

भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेश राजपत्रमा सवारीको प्रकार अनुसारको नयाँ भाडा दर प्रकाशन गरेको छ। गण्डकी प्रदेश सरकार, मन्त्रीपरिषद्को निर्णय बमोजिम गण्डकी प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक तथा भाडाका सवारी साधनको भाडा दर फागुन एक गतेदेखि लागू हुने गरी निर्णय गरिएको हो।

नयाँ भाडा दर अनुसार जिपका लागि पक्की सडकमा प्रति यात्रु प्रति किलोमिटर पाँच रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ। यस्तै बसका लागि प्रति यात्रुको लागि प्रति किलोमिटर तीन रुपैयाँ १० पैसा तोकिएको छ। सिटी बसको हकमा भने दुई भागमा बाँडिएको छ। २० किलोमिटरभित्र तीन किलोमिटरसम्मको पहिलो बिन्दुमा २० रुपैयाँ र त्यसपछि भने प्रति किलोमिटर दुई रुपैयाँ ५० पैसा तोकिएको छ। २० किलोमिटर भन्दा बढीको यात्राका लागि प्रति यात्रु प्रति किलोमिटर दुई रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ।

यस्तै ट्रकका लागि प्रति किलोमिटर एक टनका लागि ११ रुपैयाँ ७२ पैसा भाडा दर तोकिएको छ। ट्याक्सीको लागि भने १५ किलोमिटरलाई आधार मानेर दुई थरी मूल्य कायम गरिएको छ। जसमा १५ किलोमिटरभित्रको यात्रामा फ्ल्याग डाउन ८० रुपैयाँमा १० रुपैयाँ थप गरेर ९० रुपैयाँ तोकिएको छ। थपिएको १० रुपैयाँ प्रति दुई सय मिटरमा थपिने छ। यस्तै १५ किलोमिटर भन्दा बढीको यात्रामा प्रति किलोमिटर ३७ रुपैयाँ ५० पैसा तोकिएको छ।

प्रतिक्रिया