

बीमा कम्पनीका कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन हुँदै

काठमाडौं – बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत धेरै कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली रहेको सूचना पाएपछि छानबिन सुरु गर्ने भएको छ ।
नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा जागिर खानेहरुको सङ्ख्या ठुलो रहेको भन्दै बेला बेलामा उजुरी समेत पर्ने गरेको थियो । गत माघ २० मा सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरेको पत्रमा ७ दिनको समयसीमा नै तोकेर शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको हो ।
बीमा समितिका एक अधिकारीले दिएको जानकारी अनुसार कम्तीमा २५ प्रतिशत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने अनुमान गरिएको छ ।
उनका अनुसार धेरै जसो भारतका विश्वविद्यालयहरुमा अध्ययन गरेको शैक्षिक प्रमाणपत्र पेस गर्नेहरुमाथि बीमा समितिले निगरानी बढाउने छ । विदेशी विश्व विद्यालयमा अध्ययन पुरा गरे पनि त्यसलाई त्रिभुवन विश्व विद्यालयमा पेस गरेर समकक्षताको प्रमाण पत्र लिनु पर्ने हुन्छ । समकक्षकताको प्रमाण पत्र पेस नगरे विदेशमा अध्ययन पुरा गरेको सर्टिफिकेटले वैधानिकता पाउँदै छ ।
यो आशङ्कापछि बीमा समितिले बीमा कम्पनीहरुलाई पत्राचार गरेर शैक्षिक प्रमाण पत्रबारे जानकारी गराउन भनेको छ । शङ्का लागेका कर्मचारीहरुको सक्कलै प्रमाण पत्र समेत हेर्ने समितिको तयारी छ ।

