सानेपामा कांग्रेस नेताहरुलाई विरोधस्वरुप झण्डा उपहार


काठमाडौं – नेपाल विद्यार्थी संघका कार्यकर्ताहरूले बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर नेताहरूलाई प्रतीकात्मक रूपमा विरोध जनाउँदै झण्डा उपहार दिएका छन्।

नैनसिंह महर नेतृत्वको कार्यसमिति भंग भएदेखि नै विधान कार्यान्वयन माग राख्दै सानेपा पुगेका आन्दोलनरत विद्यार्थीले कागज, रंग, काठ र अन्य सामान प्रयोग गरी बनाएका झण्डा मातृ पार्टीका नेताहरूलाई प्रतीकात्मक रूपमा विरोध जनाउँदै झण्डा उपहार दिएका हुन्।

विद्यार्थी नेता एवम् नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी नेतृत्वका विद्यार्थीहरुले दुई उपसभापति, दुई महामन्त्रीसहित कांग्रेसका केन्द्रीय नेताहरुलाई झण्डा दिएका हुन्। महामन्त्री विश्वप्रकाश शर्माले विद्यार्थीहरु आन्दोलित भएकै स्थानमा आएर विरोधस्वरुप दिइएको झण्डा लिएका थिए।

यसअघि पटक पटक आमरण अनशन र आन्दोलन गरिसकेका उनीहरूले कांग्रेसको बीउ भनिने नेविसंघलाई कोमामा पुर्‍याएको भन्दै विरोध जनाएका हुन्।

विधानअनुसार ३२ वर्षे उमेर हद कायम गर्नुपर्ने माग राख्दै यसअघि सानेपामा आमरण अनशन समेत बसेका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीसहितले विधानअनुसार तत्काल महाधिवेशन माग गर्दै प्रदर्शन गरेका हुन्। नेपाली कांग्रेसका सबै भ्रातृ संगठनको पदावधि सकिएको लामो समय भइसकेको छ। पाँच भ्रातृ संगठनका अध्यक्ष कांग्रेस केन्द्रीय सदस्य भइसकेकाले उक्त पद पनि रिक्त छ।

यसअघि अनशन पनि बसिसकेका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले दबाबका लागि झण्डा उपहार दिने रचनात्मक आन्दोलन गरिएको बताए ।

 

प्रतिक्रिया