विष्णुमती नदी किनारामा इन्द्रायणी पार्क बन्‍ने


काठमाडौं – कालीमाटीदेखि बालाजुसम्म विष्णुमती नदी किनाराको जग्गा संरक्षण गर्ने काठमाडौं महानगरपालिकाले हरियाली विकास गर्ने तथा पार्क बनाउने भएको छ । सोमबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले इन्द्रायणी गुरुयोजनाअन्तर्गत पार्कको शिलान्यास गरेका छन् ।

२ रोपनी ८ आना ३ पैसा जमिनमा निर्माण हुने पार्क बनाउन १ करोड २२ लाख रुपैयाँमा सम्झौता भएको छ । शाक्यले प्राचीन इतिहास बोकेको सहर सहरी विकासको क्रमसँगै समयका हरेक खण्डमा बिग्रिँदै गएको उल्लेख गरे । ‘समय समयमा सहर बिग्रियो । त्यसको अपजस कसलाई दिने? राम्रा काम भने यो मैले गरेको भनेर दावी गर्ने गरिन्छ ।’

शाक्यले भने, ‘हामी निर्वाचित भएर आएदेखि सहरको मौलिकता जोगाउन तथा ठाउँ, समय र परिवेशका आधारमा आधुनिकताको उपयोगबाट सुधार गर्न प्रतिवद्ध भएर काम गरिरहेका छौँ । समय परिवर्तनशील छ । यसको विकास र गतिलाई स्वीकार गर्नुपर्छ ।’

१७ वडाका अध्यक्ष नवीन मानन्धरले भने, ‘असला माछा हुनलाई शुद्ध पानी चाहिन्छ । हामी समुदाय र सरोकारवालासँग मिलेर विष्णुमती नदीलाई असला माछा हुने नदी र नदी तथा जल सम्पदाको समृद्धिलाई वडाको विम्बका रुपमा विकास गर्न चाहन्छौँ ।’

पूर्वमन्त्री शुशिलकुमार श्रेष्ठले खुशिँबु टाउन प्लानिङ् सहरी विकासको सिकाइ भएको बताउँदै यसलाई नदी सभ्यतासँग जोड्न महानगरले अघि सारेको योजनाको प्रशंसा गरे ।

काठमाडौँ महानगरमा जनप्रतिनिधि पद वहाली भएपछि सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवर्धन तथा पार्क निर्माण कार्यलाई नीति, बजेट तथा कार्यक्रमले प्राथमिकता पाएका छन् ।

महानगरभित्र हुने यसप्रकारका कामसँगै नगर- नगर साझेदारी, आन्तरिक भगिती सम्बन्ध भएका सहर सबैसँग यही शीर्षक अर्थात सार्वजनिक जग्गा संरक्षण, पार्क तथा धाम निर्माण, पर्यापर्यटना कार्यक्रममा सहयोग गरेको छ।

महानगरले यसरी साझेदारिता गरेका नगरहरुमा काठमाडौँका सबै पालिका हुन् । भक्तपुरको मध्यपुर थिमी र चाँगुनारायण नगरपालिका रहेका छन् । यसैगरी भगिनी सम्बन्ध भएका सहरहरुमा धनकुटाको पाख्रीबास, नवलपरासीको सुस्ताघाट पश्चिम रामग्राम, सिन्धुपाल्चोकको मेलम्ची, जुम्लाको चन्दननाथ र डडेल्धुराको अमरगढी नगर रहेका छन् ।

महानगरको पूर्वाधार निर्माण विभागका प्रमुख रामबहादुर थापाकाअनुसार पहुँचयुक्त सार्वजनिक शौचायल, चोतारो, ढुङ्गेधारो, खुल्ला व्यायामशाला पार्कका विशेषता हुन् ।

प्रतिक्रिया