

एमसीसीलाई संसदमा प्रवेश गर्नबाट सभामुखले रोक्न मिल्दैन : प्रदीप ज्ञवाली

काठमाडाैँ – एमालेका उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे सार्वभौम ससंद्मा छलफल हुनुपर्ने बताएका छन्। एमसीसी सम्झौताको विषयमा जनतालाई यथार्थ जानकारी दिन पनि त्यसलाई संसद्मा पेश गरेर छलफल गर्नुपर्ने ज्ञवालीको भनाई छ।
प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले भने, ‘एमसीसीलाई संसदमा पेस हुनबाट सभामुखले रोक्न मिल्दैन। यस विषयमा संसदमा छलफल हुनुपर्छ। यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय सार्वभौम संसद्को हो।’
सदनमा एमसीसीले प्रवेश पाएपछि मात्र एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने उनको भनाइ थियो। नेता ज्ञवालीले एमसीसी सम्झौताका विषयमा सरकार र सत्ता गठबन्धनका केही नेताले गिजोल्ने काम गरिरहेको उनको आरोप थियो। ‘पाँच महिनासम्म समय मागेर अहिले अन्योल सिर्जना गर्नु अन्तर्राष्ट्रिय जगत्मा नेपालको विश्वसनीयता समेत सङ्कटमा पार्नु हो,’ ज्ञवालीले भने, ‘अमेरिकातर्फ फर्केर एउटा कुरा र नेपालतर्फ फर्केर अर्को कुरा गर्ने दोहोरो चरित्र देखियो।’
एमसीसी सम्झौता गर्दा पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा कांग्रेस–माओवादी संयुक्त सरकार रहेको स्मरण गराउँदै उनले अहिले एमसीसीलाई टुङ्गोमा पुर्याउने दायित्व पनि देउवा र प्रचण्डकै भएको बताए।

