

वसन्त पञ्चमीको शुभकामनामा पनि ओलीको गनगन : संविधानको अपव्याख्या गरेर सरकारबाट हटाइयो

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
आइतबार बिहान शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले वसन्त पञ्चमीका अवसरमा स्वदेश तथा विदेशमा बस्ने नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा ओलीले सरकारको नेतृत्व गरेर मुलुकलाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्नबाट एमालेलाई रोकिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन्।
‘हामीलाई असंवैधानिक अपव्याख्याद्वारा सरकारबाट हटाए पनि नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर, अव्यवस्थाबाट सुव्यवस्थातिर लैजाने हाम्रो गन्तव्यलाई हामी अवरोध पुर्याउन दिने छैनौँ,’ ओलीको सन्देशमा भनिएको छ, ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गरेर जनताको जीवनमा खुशी भर्न हामीले समाजलाई असल नैतिक मूल्यमा उठाउनु पर्नेछ।’

