देशभर एकैदिन १२ जनाकाे शव फेला !


काठमाडाैँ –  शनिबार एकैदिन देशभर १२ जना मृत फेला परेका छन्। काठमाडौँमा दुईसहित देशभर १२ जना मृत फेला परेका हुन्। प्रहरीका अनुसार काठमाडौं महानगरपालिका-९ बत्तीसपुतलीस्थित खुम्बिला होटल नजिक सडक पेटीमा नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष शुक्रबार मृत फेला परेका छन्। यसैगरी काठमाडौँ गोकर्णेश्वर नगरपालिका-२ सुन्दरीजल नजिक अन्दाजी ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।

त्यसैगरी गोरखाको गोरखा नगरपालिका-४ फिनाम पन्थीस्वारा बस्ने ६० वर्षीया ठुली खनखवास घर नजिकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

बैतडीको दशरथचन्द नगरपालिका-२ सौरेनिगडा बस्ने ४५ वर्षीय मान सिंह रावत पनि घर नजिकै बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। उनी नेपाल विद्युत प्राधिकरणका कर्मचारी हुन्। रावत बिहीबार राति कार्यालयबाट घर फर्केदेखि बेपत्ता थिए।

त्यसैगरी धनकुटाको महालक्ष्मी नगरपालिका-५ लेगुवास्थित अरूण नदीको किनारमा एक पुरुषको शव फेला परेको छ। शवको सनाखत हुन सकेको छैन। झापाको शिबसताक्षी नगरपालिका-१० माइखोला पुलमा पनि अन्दाजी ५० वर्षीय पुरुष मृत फेला परेका प्रहरीले जनाएको छ।

त्यसैगरी खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ बस्ने ५६ वर्षीय होमप्रसाद राई घर नजिकै बाटोमा मृत अवस्थामा फेला परेका छन् । गत बुधबार जडिबुटि खोज्न भनि आफ्नै घरदेखि जंगलतर्फ हिँडेका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।

त्यसैगरी तेह्रथुमको छथर गाउँपालिका ३ बासमेरी निवासी ६४ वर्षीया फुलमाया सार्की घर नजिकै सामुदायीक जंगलम मृत अवस्थामा फेला परेकी छिन् । शुक्रबार बिहान फाक्चामारा जान्छु भनी हिँडेकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ।

संखुवासभाको पाचँखपन नगरपालिका-६ स्थित तिलबारीडाँडा जंगलमा पनि अन्दाजी ६५ वर्षीया महिलाको शव फेला परेको छ।

त्यस्तै सल्यानको शारदा नगरपालिका-८ मालडाँडा बस्ने ७३ वर्षीय तेज बहादुर कवर घर नजिकै मृत फेला परेका छन् । गत माघ १६ गते घरबाट निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको परिवारका सदस्यहरुले बताएका छन्।

लमजुङको वेसीशहर नगरपालिका-११ ओडार बस्ने ४६ वर्षीय टेकनिधी तिवारी आफ्नै घर नजिक नालामा मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको सप्तकोशी नगरपालिका-१ पारोहाङगमा निर्माणाधिन घरमा अन्दाजी ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

प्रतिक्रिया