पर्यटनमन्त्री आलेद्वारा मारवाडी सेवा समितिलाई ५ महिनाको तलब दिने


काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो ५ महिनाको तलब दिने घोषणा गरेका छन्।

समितिको ६९औँ स्थापना दिवसका अवसरमा शनिबार पशुपति धर्मशलामा आयोजित निःशुल्क कृत्रिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सो घोषणा गरेका हुन्।

समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा सहयोग गरिरहेको र उक्त सेवा विस्तार तथा सहयोग पुगोस् भनेर आफूले मन्त्रीका हैसियतले पाउने ५ महिनाको तलब दिने उनले बताए।

उनले भने, ‘सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिनेछु, सोमबारसम्म उक्त रकमको चेक हस्तान्तरण गर्नेछु।’

मारवाडी सेवा समितिले थप राम्रा काम गरोस् तथा दुःखी गरिबका लागि चाहिने आवश्यक सहयोग गर्न आफू पनि तयार रहेको उनको भनाइ थियो।

सो अवसरमा मन्त्री आलेले राजनीति पेसा नभएर सेवा भएकाले आफू पनि जनताको सेवा गर्न राजनीतिमा प्रवेश गरेको बताए।

उनले भने, ‘जनताको सेवा गर्न म राजनीतिमा आएको हुँ, नेपालीको जनभावनाअनुसार काम गरीरहेको छु।’

मन्त्रालयअन्तर्गत भएका विकृति, विसङ्गतिबारे आफूलाई जानकारी गराउन आग्रह गर्दै मन्त्री आलेले भने, ‘सरकार कहाँ चुकेको छ, कहाँ कमजोरी भएको छ, खबर गर्नुहोस्, म तत्काल सुधार गर्ने छु, यो मेरो वाचा भयो।’

उक्त कार्यक्रममा विभिन्न दुर्घटनामा परी खुट्टा गुमाएका नागरिकलाई निःशुल्क रूपमा कृत्रिम खुट्टा वितरण गरिएको पशुपति धर्मशालाका अध्यक्ष चर्तुभुज सरियाले जानकारी दिए।

प्रतिक्रिया