फरक क्षमता भएका सुनारले सगरमाथा चढ्ने


गण्डकी – सगरमाथा आरोहणको कीर्तिमान सहजरूपमा सम्भव छैन। सहज हुँदो हो त सगरमाथा शिखर आरोहणको त्यति महत्व पनि हुने थिएन होला। निकै कम मानिसले ठूलो साहस र दृढताका साथ सगरमाथा चढेर रेकर्ड कायम गरेको इतिहासका बीच कास्कीका एक होचा र अपाङ्ता भएका व्यक्ति सागर सुनार (विश्वकर्माले) पनि सगरमाथा आरोहणको इतिहास रच्ने प्रयास गरेका छन्।

कास्की जिल्लाको मादी गाउँपालिका–११ सातेका सुनारले अहिले सगरमाथा आरोहणको योजना बनाउनुभएको छ। अपाङ्ता भएका व्यक्ति सगरमाथा चढ्नु अकल्पनीय र असम्भव प्रायः ठान्ने गरिए पनि २८ वर्ष, ३‍.५ फिट उचाइ र ३५ केजी तौलका सुनारले सगरमाथा चढ्ने साहसिक निर्णय गरेर पहिलो प्रयास थालेका छन्। उनले आगामी वैशाखमा राष्ट्रिय झण्डासहित विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारी गरेका छन्।

फरक क्षमता भएर पनि मनोबल उच्च राखे जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने सन्देश दिनु पनि आफ्नो अभियानको लक्ष्य भएको उनले बताए। उनको शरीरभन्दा टाउको ठूलो छ भने खुट्टाका पाइताला बाङ्गिएका छन्। ‘सगरमाथामा विश्वका धेरै व्यक्तिले विभिन्न कीर्तिमानी कायम गरिसक्नुभएको छ’, सुनारले भने, ‘होचो कद र अपाङ्गता भएका एउटै व्यक्तिको कीर्तिमानी कायम गर्ने दाबीका साथ तयारीमा जुटेको छु।’

आरोहणको पूर्वतयारीका साथ दोलखा जिल्लास्थित पाँच हजार ९२५ मिटर उचाइको रामदुङ हिमाल सकुशल आरोहण गरिसक्नुभएका सुनारले यतिखेर आर्थिक सहयोग गरिदिनुहुन सबैसँग अपिल गरेका छन्। बाबु दुर्गाबहादुर र आमा कमला सुनारका पाँच भाइमध्येका कान्छा छोरा सुनारले भने दिदी उर्मिला सुनारको साथी कान्छीमाया तामाङ प्रेरणाका स्रोत रहेको बताए। तामाङ २१ पटक सगरमाथाको सफल आरोहणसहित विभिन्न नौवटा कीर्तिमानी कायम गर्ने पेम्मादोर्जे शेर्पाका श्रीमती हुन्।

गाउँको सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेको सुनारले ठट्यौली पारामा भने, ‘सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्केपछि विवाह गर्ने सोचमा छु।’ सुनारको आरोहण टोलीमा कीर्तिमानी पेम्मा दोर्जे शेर्पा पनि रहनेछन्। आरोहणका लागि एक करोडभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ।

आरोहण अभियानमा जुटेका उनका माइला दाइ सुरेश सुनार सुन व्यवसायी हुन्। भाइले दृढ इच्छाशक्ति देखाएको हुँदा सफल हुने विश्वास व्यक्त गरे। उनले विभिन्न खाले तयारीका लागि हालसम्म रु १० लाखभन्दा बढी खर्च भईसकेको बताए। भाइ जन्मँदा स्वस्थ भएपछि उमेरअनुसार उचाई नबढेको र खुट्टा समेतमा समस्या देखिएको उनले बताए।

सुनारको अभियानमा गाउँपालिकाको साथ र सहयोग

विश्वको उच्च शिखर सगरमाथा आरोहणको तयारीमा लागेका सागर सुनारको अभियानमा गाउँपालिकाको साथ र सहयोग रहने भएको छ। गाउँपालिकाको पहिचान भएको भन्दै सुनारको आरोहणमा सर्वपक्षीय भेलाको आयोजना गरेको हो।

नेपालमात्र नभई विश्व कीर्तिमानमा जुटेका सुनारको सहयोगका लागि गाउँपालिकाका अध्यक्ष बेदबहादुर गुरुङ (श्याम)को संयोजकत्वमा मादीका सम्पूर्ण जनप्रतिनिधि, पोखरा महानगरपालिकाका प्रमुख, माछापुच्छ्रे, रुपा र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष, कास्की जिल्लाबाट निर्वाचित सङ्घीय एवम् प्रदेश सांसद, पूर्वमन्त्री, पूर्वसभामुख, मादी गाउँपालिकामा जन्म भई पोखरामा बसोबास गर्दै आएका विभिन्न १८ वटा तमु समाजका प्रतिनिधि सम्मिलित ३०० को सहयोग समिति गठन गरेको छ।

भेलामा कीर्तिमानी आरोही पेम्मादोर्जे शेर्पा, विभिन्न राजनैतिक पार्टीका प्रमुख एवम् प्रतिनिधि, तमुसमाज, उद्योगी तथा व्यवसायी, आमा समूह लगायतले मादीको मात्र नभई नेपालकै गौरव यो अभियानलाई आ–आफ्नो स्थानबाट नैतिक, भौतिक तथा आर्थिकरुपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।

भेलामा गाउँपालिकाका अध्यक्ष गुरुङले सबैको साथ सहयोग रह्यो भने आवश्यक रकम सङ्कलन गर्न सफल हुने विश्वास व्यक्त गर्दै सुनारले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेमा आफू विश्वस्त रहेको बताए।

प्रतिक्रिया