जनआन्दोलनका उपलब्धी फेरि गुम्ने खतरा : चित्रबहादुर केसी


काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनताले लडेर ल्याएका उपलब्धिहरु फेरि गुम्ने खतरा बढेको बताएका छन्।

राष्ट्रिय जनमोर्चा लमही नगर समितिले बिहीबार दाङको लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले संसद लामो समयसम्म अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताए।

जनताको आवाज बोल्ने थलो संसद लामो समयसम्म बन्द गर्नु राम्रो संकेत नभएको केसीको धारणा थियो।

‘देशमा हामीले गणतन्त्र ल्यायौँ, जनताका कतिपय हक अधिकार ल्याएपनि एक डेढ वर्षदेखि मुलुकमा संसद विधायिका चलेकै छैन । २०७७ पुस ५ गते पहिलो पटक संसद विघटन गरियो । फेरि विघटन भयो’ उनले भने, ‘दुवैपटक सर्वोच्च अदालतले पुनर्स्थापना गर्यो। तर, न व्यवस्थापिका चलेको छ, त न्यायपालिका चलेको छ, न त कार्यपालिका नै राम्रोसँग चलेको छ।’

केसीले अहिले सरकारका तीन अंग नै अस्तव्यवस्त अवस्था रहेको भन्दै व्यवस्थापिका संसदलाई भत्काएर चल्नै नदिएको, न्याय पालिकामा भद्रगोल मच्याइएको र सरकारले सुशासन दिन नसकेको बताए।

केसीले राष्ट्रियताभन्दा ठूलो गठबन्धन हुन नसक्ने बताए। एमसीसी ल्याउने शर्तमा गठबन्धन कायम राख्न नसकिने उनको भनाइ थियो।

राष्ट्रिय जनमोर्चाका लागि गठबन्धनभन्दा राष्ट्रियता ठूलो हुने केसीले बताए। ‘उपलब्धि गुमाउन खोज्नेहरुको आडमा एमसीसी आउन थालेको छ। कुनैपनि हालतमा एमसीसी पास हुँदैन’ केसीले भने, ‘राष्ट्रिय जनमोर्चाका लागि गठबन्धन ठूलो होइन, राष्ट्रियता ठूलो कुरा हो।’

फरक प्रशंगमा अध्यक्ष केसीले पार्टीबाट कारबाहीमा परेका केही व्यक्तिहरुले अवसरको खोजी गर्न आफ्नो पार्टीको नाम जुधाएर राखेको बताए।

प्रतिक्रिया