


अटो चालकको शंकास्पद मृत्यु, पानीको दलदलमा भेटियो शव

काठमाडाैँ – पूर्वी नवलपरासीमा एक अटोचालकको शंकास्पद अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ना.२ह ६१७३ नम्बरको अटोचालक कावासोती– १३ नयाँ बस्तीका ५२ वर्षीय माधवप्रसाद गिरीको शंकास्पद मृत्यु भएको हो। उनको हत्या भएको आशंका प्रहरीले गरेको छ।
गएको सोमबार रातिदेखि बेपत्ता भएका गिरीको शव मंगलबार बौनाहाको सिलहट घोलमा पानीको दलदलमा गाडेको अवस्थामा फेला परेको प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले जानकारी दिए।
‘मृतकको अनुहारमा चोट लागेको छ,’ प्रहरी उपरीक्षक महर्जनले भने, ‘घटनास्थलभन्दा केही पर अटो भेटिएको छ। घटनास्थलमा सिक्री, दुई थान मोबाइल र जुत्ता फेला परेको छ। हामी अनुसन्धान गरिरहेका छौँ।’

