‘अलोकतान्त्रिक समूहसँगको गठबन्धन र सहकार्यले कांग्रेसको मौलिकता र पहिचान हरायो’


काठमाडौँ – गत असार २८ गते सर्वाेच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी असार २९ गतेभित्र कांग्रेसका सभापतिसमेत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गर्याे । सोहीअनुसार कांग्रेस, नेकपा माओवादी केन्द्र, तत्कालीन नेकपा एमालेको माधवकुमार नेपाल (हाल एकीकृत समाजवादी पार्टी), जनता समाजवादी, राष्ट्रिय जनमोर्चाका सांसदको समर्थनमा देउवा प्रधानमन्त्री भए । केपी ओलीले गैरसंवैधानिक कदम चालेर दोस्रो पटक संसद् विघटन गरेपछि त्यसविरुद्ध यो गठबन्धन बनेको हो ।

अहिले यही गठबन्धनको सरकार छ । तर, निर्वाचन आउँदै गरेको अवस्था, अमेरिकी सहयोग एमसीसीलगायतका विषयमा भने यो गठबन्धनमा खटपट सुरु भएको छ । गठबन्धनकै नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादीका नेताहरुले यो गठबन्धन आगामी निर्वाचनसम्मै जाने बताइरहँदा कांग्रेसभित्र भने यसको चर्काे विरोध सुरु भएको छ ।

कांग्रेसमा लोकप्रिय मत ल्याएर महामन्त्री निर्वाचित गगनकुमार थापाले पार्टी महाधिवेशनमा कांग्रेसले चुनावमा कोहीसँग सहकार्य गर्दैन, एक्लै मैदानमा जान्छ भन्ने नारा नै बनाएका थिए । थापा महामन्त्री निर्वाचित भएपछि पनि यो भन्दै आइरहेकै छन् । तर, यो गठबन्धनको सरकारले नै जेठ ४ मा स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने समझदारी निर्वाचन आयोगसँग गरेको छ । निर्णय भने मन्त्रिपरिषद्बाट हुन बाँकी छ ।

गठबन्धनपछि कांग्रेसभित्र चर्काे आलोचना भइरहेको छ । कांग्रेसका युवा नेता गुरुराज घिमिरेले गठबन्धनमा भएका दलको समूहलाई अलोकतान्त्रिक समूह नै भने । यो गठबन्धनको नाममा भएको सहकार्यले नेपाली कांग्रेसको मौलिकता र पहिचान नै हराउँदै गएको उनको ठहर छ । उनले गठबन्धनको कारण काग्रेस र गैर कांग्रेसको बोली पनि नछुट्टिएको बताए ।

राष्ट्रिय अस्मिता, राष्ट्र निर्माण र लोकतन्त्रको रक्षाबाहेकको विषयमा कैसँग गठबन्धन गर्न कांग्रेसलाई आवश्यक नरहेको पनि उनको भनाइ छ ।
‘अलोकतान्त्रिक समूहसँगको अनावश्यक बसउठ,गठबन्धन र सहकार्यले कांग्रेसको मौलिकता र पहिचान हराउँदै गएको छ,’ घिमिरेले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कांग्रेस र गैरकांग्रेसको बोली,व्यवहार र राजनीतिक प्राथमिकता छुट्टिन छाडेको छ । राष्ट्रिय अस्मिता,राष्ट्र निर्माण र लोकतन्त्रको रक्षा बाहेकका बिषयमा कसैसँग पनि गठबन्धन आवश्यक छैन ।’

प्रतिक्रिया