सार्वजनिक स्थलमा प्रर्‍याङ्क गर्न रोक, अटेर गरे कस्तो कारबाही ?


काठमाडौं । नेपालमा सार्वजनिक स्थलमा प्रर्‍याङ्क अर्थात् ‘मजाक, ख्यालठट्टा वा मस्करी’ नगर्न गृह मन्त्रालयले निर्देशन दिएको छ।

यस्ता गतिविधिका नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने र दिक्दार लगाउने क्रियाकलापहरू गरी त्यस्तो भिडिओ तयार गर्ने र त्यस्ता फुटेज सामाजिक सञ्जालमा अप्लोड गरेको गुनासो तथा सूचना प्राप्त भइरहेको जनाउँदै मन्त्रालयले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो।

गृह मन्त्रालयले गत बिहीवार सार्वजनिक गरेको विज्ञप्तिमा ‘व्यक्तिको अनुमतिबिना कुनै पनि प्रकारको तस्बिर लिन र सामाजिक सञ्जालमा प्रकाशन गर्न, व्यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्यक्तिको अनुमतिरसहमतिबिना कुनै पनि प्रकारको भिडिओग्राफी गरी सामाजिक सञ्जालहरूमा प्रकाशन गर्ने क्रियाकलापमा संलग्न जोसुकैलाई कारबाही गरिने’ उल्लेख गरिएको छ।

नेपालमा केही समयदेखि प्रर्‍याङ्कका नाममा विभिन्न किसिमका क्रियाकलापहरू बढेको पाइएको र त्यस्तो गुनासो आफूहरूले प्राप्त गरेकाले सर्वसाधारणहरूलाई यसबारे सतर्क बनाइएको मन्त्रालयले जनाएको छ।

खासगरी यूट्यूब, फेसबुक र टिकटकजस्ता सामाजिक सञ्जालमा विभिन्न व्यक्ति वा समूहले सार्वजनिक स्थलमा सर्वसाधारण मानिससँग विभिन्न तरिकाले प्रर्‍याङ्क गर्ने र गोप्य रूपमा खिचिएका भिडिओ अप्लोड गर्ने गरेको पाइन्छ।

इन्टरनेट हाइलाइट्स नाम गरेको एउटा यूट्यूब च्यानलमा सन् २०१७ को मे २१ मा अप्लोड गरिएको एउटा भिडिओमा दुई व्यक्ति सेतो कपडा लगाएर भूतजस्तै बनेर एक्लै हिँडेका मानिसहरूलाई तर्साएको देख्न सकिन्छ। केही मानिस अँधेरोमा त्यस्तो देख्दा तर्सिएर भाग्छन् पनि। तर त्यसैबीच अर्का एक व्यक्ति आइपुग्छन्, अरूजस्तै सुरुमा उनी पनि डराए जस्तो देखिन्छ। एक छिनपछि उनी ती दुई व्यक्तिमाथि जाइलाग्छन्। केही समय घम्साघम्सी चल्छ।

बीचमा ‘क्यामेरा, क्यामेरा, क्यामेराू भनेको आवाज सुनिन्छ। भिडिओ खिच्ने व्यक्ति पनि आइपुग्छन्। उक्त कार्य प्र्याङ्क रहेको थाहा भएपछि ती व्यक्ति बल्ल शान्त हुन्छन्। यो भिडिओ सामाजिक सञ्जालका विभिन्न प्रयोगकर्ताहरूले सार्वजनिक गरेको देखिन्छ।

कतिपयले आफ्नै परिवारका सदस्य, साथीभाइ वा चिने जानेका व्यक्तिहरूसँग यस्ता गतिविधि गरेको पाइन्छ। यस्ता भिडिओ प्रायः अनौठो परिस्थितिमा फरकफरक मानिसले कसरी प्रतिक्रिया गर्छन् भनी हेरेर रमाइलो गर्न बनाइने गरेको प्र्याङ्क भिडिओ उत्पादकहरूले बताउने गरेको पाइन्छ।

सामाजिक सञ्जालमा विभिन्न देशका व्यक्ति तथा समूहले यस्ता भिडिओ बनाएर राख्ने गरेको देख्न सकिन्छ।

प्रतिबन्ध लगाइनुको कारण के हो ?
गृह मन्त्रालयका प्रवक्ताका समेत रहेका सहसचिव फणीन्द्रमणि पोखरेल कुनै व्यक्तिको जानकारीबिना कुनै गतिविधिको भिडिओ खिचेर सार्वजनिक गरिदिने गरिएको गुनासो आफूकहाँ आइपुगेका कारण सरकारले सूचना जारी गरेको बताउँछन्।

यस्ता गतिविधिबाट ‘बेथिति बढ्न सक्ने’ सम्भावना देखेर कदम चालिएको उनले जानकारी दिए।

नेपाल प्रहरीका अनुसार प्रहरी कार्यालयहरूमा यस्ता गुनासो लिएर आउने व्यक्तिहरूको सङ्ख्या क्रमिक रूपमा बढ्दो छ।

विगतमा यस्ता गतिविधिसम्बन्धी उजुरीमा सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइने गरिएको भए पनि हाल अभद्र व्यवहारसम्बन्धी कसुरअन्तर्गत मुद्दा चलाइने गरेको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए।

अटेर गरे कस्तो कारबाही हुन्छ ?
मुलुकी अपराध संहिता, २०७४ दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न नहुने उल्लेख छ।

यद्यपि सार्वजनिक शान्तिसुरक्षामा खलल पुर्‍याउने खालको विषय भए प्रहरीले आफैँ अनुसन्धान गर्ने गरेको तर सार्वजनिक रूपमा शान्ति सुरक्षा असर नपुग्ने विषय रहेको र व्यक्ति पीडित हुने प्रकृतिको घटना रहे सम्बन्धित व्यक्तिले उजुरी नगरेसम्म मुद्दा प्रक्रिया अगाडि बढाउन नमिल्ने केसी बताउँछन्।

त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुन सक्ने दफा ११८ को उपदफा २ मा उल्लेख छ। उजुरीको प्रवृत्ति हेरेर विद्युतीय कारोबार ऐनअन्तर्गत पनि कारबाही गर्न सकिने प्रहरीको भनाइ छ।

सामाजिक सञ्जालमा देखा पर्ने यस्ता भिडिओ कतिपय अवस्थामा चिनजान भएका मानिस वा सहकर्मीलाइ प्रयोग गरी साँच्चै भए जस्तो गरी अभिनय गराइने गरेको पनि कतिपयको भनाइ छ।

यस्ता केही भिडिओमा अन्तिममा यो प्रर्‍याङ्कको हो र भिडिओ खिचिएको जानकारी गराइएको पनि देख्न सकिन्छ।

तर त्यस्तो भिडिओ प्रकाशन हुन्छ भन्ने कुरा भने जानकारी गराएर सहमति लिइएको वा नलिइएको भने प्रष्ट हुँदैन।

प्रतिक्रिया