
चोरीमा संलग्न भएको आरोपमा ५ जना पक्राउ
बारा – पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा पाँच जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका–१ प्रसौनी टोल बस्ने २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही ठाउँ बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेको प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए ।
प्रसौनी गाउँपालिका–२ स्थित रहेको शुभश्री मोबाइल पसल फुटाई पसलमा रहेका विभिन्न कम्पनीका मोबाइल चोरी गरी लुकाइराखेको अवस्थामा प्रसौनी गापा–१ मा बस्ने गोपिचन मुखियाको छोरा विशाल मुखियाको घर कोठा खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको मालसामानमध्ये निज विशाल मुखिया सुत्ने कोठाभित्र रहेको खाटमुनि पिठ्यूँमा बोक्ने तीनवटा झोलामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रवक्ता थापाले बताए ।
साथै विभिन्न किसिमको नयाँ मोबाइल सेट ९४ थान, ब्याट्री, चार्जर, राउटर तथा सोही घरको पहिलो तलाको कोठामा रिपुराज लेखिएको चामलको बोरामा राखी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध गाँजा ६ किलो ग्रामसमेत फेला पारी उक्त चोरी कार्यमा संलग्न ती पाँच जनालाई पक्राउ गरिएको प्रवक्ता थापाको भनाइ छ । पक्राउ परेका ती सबैलाई डाँका चोरी मुद्दामा जिल्ला अदालतबाट पहिलोपटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता थापाले जानकारी दिए ।



कागजपत्र |
