

पार्टी अध्यक्ष लिङ्देनलाई कमल थापाको पत्र- मेरा सुझाव किन रद्दीको टोकरीमा फाल्नु भएको ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता कमल थापाले आफ्ना सुझावलाई पार्टी नेतृत्वले रद्दीको टोकरीमा फालिदिएको आरोप लगाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनलाई सम्बोधन गर्दै नेता थापाले आफ्ना सुझावबारे पार्टीको ध्यानाकर्षण गराएका छन् ।
‘पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि पार्टीले गति लिने अपेक्षा गरिएको थियो । तर, अहिले परिस्थिति विस्तारै निराशाजनक हुँदै गैरहेको देखिन्छ,’ उनले लेखेका छन्, ‘पार्टीको बृहत्तर हित र एकतालाई अक्षुग्ण राख्ने पवित्र उद्देश्यका साथ मैले उठाएका सैद्धान्तिक, राजनीतिक एवं सांगठनिक विषयलाई सम्बोधन गर्नुको सट्टा तपाईंले मेरो पत्रलाई रद्दीको टोकरीमा फालिदिनु भएको छ ।’
महाधिवेशनपछि पार्टीका कुनै पनि कार्यक्रममा आफूलाई संलग्न नगराइएको भन्दै उनले आक्रोश पोखेका छन् । ‘पार्टीका कार्यक्रम र गतिविधि बारे मलाई कुनै सूचना र जानकारीसमेत दिइएको छैन । योजनावद्धरूपमा मलाई अलग्याउने प्रयास भैरहेको देख्छु,’ उनले लेखेका छन् ।
यसबीच एकपक्षीय, पूर्वाग्रही र समावेशी मान्यता विपरीत केन्द्रीय कार्यसमितिको विस्तार, राष्ट्रियसभा निर्वाचनमा अवलम्बन गरिएको हचुवा नीति, स्थानीयतहको निर्वाचन तयारीमा सुस्तता आदिको कारण पार्टीको भविष्य बारे थप चिन्ता बढाएको उनले बताएका छन् ।

