

कोरोनाका कारण फिल्म फेस्टिबल दुई महिना पछि सर्यो

काठमाडौँ – नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ)को चौथो संस्करण तत्कालका लागि स्थगित भएको छ । कोरोना भाइरसका कारण कार्यक्रम तोकिएको मितिमा गर्न नसक्ने भएकाले दुई महिना पछाडीका लागि मिति तय भएको आयोकले बताएको छ । फागुनको १२ देखि १६ (फेब्रुअरी २४ देखि २८,२०२१) सम्म काठमाडौँमा गर्ने गरेर केही अगाडि घोषणा गरिएको फेस्टिभल कोरोना महामारीका कारण निर्धारित मितिमा हुन नसक्ने आयोजकले जनाएको हो ।
फेस्टिभल अब २०७८ बैशाखको २३ देखि २७ सम्म काठमाडौँमा आयोजना हुने आयोजक संस्था नेपाल चलचित्र तथा साँस्कृतिक प्रतिष्ठानले एक विज्ञप्तिमार्फत जनाएको छ । आयोजकले पूर्व निर्धारित मितिमा फेस्टिभल गर्ने गरी विश्वभरका फिल्म मेकरबाट फेस्टिभलमा सहभागिताका लागि आवेदन पनि खुला गरेको थियो । २०२० को जुलाई १ देखि नोभेम्बर ३० सम्म तोकिएको समयावधिमा ५२ देशका ४ सय बढी फिल्मले सहभागगिताका लागि आवेदन दिएको आयोजक संस्थाका अध्यक्ष केपी पाठकद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । फिल्म मध्येबाट छानिएका फिल्मको सूची फागुन ८ ९फ्रेब्रुअरी २०,२०२१ ० मा सार्वजनिक गरिने पनि विज्ञप्तिमा भनिएको छ ।
कोरोना ‘महामारीका कारण फिल्म मेकर चाहेर पनि फेस्टिभलमा सहभागी हुन सक्ने अवस्था छैन । भर्चुअल रुपमा गर्ने विकल्प हामीलाई खास प्रभावकारी लागेको छैन’, पाठकले भनेका छन् ‘ केही समय कुर्दा पुरानै स्वरुपमा फेस्टिभल गर्न सकिन्छ भन्ने अपेक्षासहित केही महिना सारेर फेस्टिभल गर्न लागेका हौं ।’ ‘विश्वका कथाहरुको कथ्य उत्सव’ भन्ने नाराका साथ ‘फिल्म संस्कृति’ को विकास गर्ने उद्देश्यसहित सुरु भएको फेस्टिभलमा यो वर्ष महामारीको विषयमा बनेका फिल्मको विधाथप गरिएको थियो ।

