

संसद विघटन र संवैधानिक परिषद फिर्ताको निर्णय बोकेर प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं– मन्त्रिपरिषदले गरेको संसद विघटनको सिफारिस र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताको निर्णय बोकेर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शितलनिवास पुगेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई मन्त्रिपरिषदका निर्णय र सिफारिस प्रधानमन्त्री ओलीले बुझाउनेछन्। यसअघि मन्त्रिपरिषदको निर्णयमा आपत्ति जनाउनका लागि बालुवाटार पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनले भेट दिएका थिएनन्।
बालुवाटार स्रोतका अनुसार शितलनिवास जाने तय भएका कारण नेकपा अध्यक्ष प्रचण्डसँग प्रधानमन्त्रीको भेट हुन नसकेको हो। शनिबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका प्रधानमन्त्रीले गृहमन्त्री रामबहादुर थापा बादलसहितलाई भेटेका थिए। यस्तै, शनिबारै उनले राष्ट्रपति भण्डारीसँग पनि परामर्श गरेका थिए।

