‘स्वास्थ्य मन्त्रालय तत्काल बन्दाबन्दी गर्ने पक्षमा छैन’


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफू तत्काल बन्दाबन्दी गर्ने पक्षमा नभएको स्पष्ट पारेको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा मन्त्रालयका सचिव डा रोशन पोखरेलले मन्त्रालय बन्दाबन्दीको विरुद्धमा रहेको बताए ।

देशमा बल्लबल्ल अलिअलि उकालो लागेको अर्थतन्त्र फेरि नबिग्रियोस् भन्नेमा मन्त्रालय प्रष्ट रहेको उनले बताए । उनले भने, ‘कतिपय क्षेत्र बन्द गर्नुपर्ने हो भने दुईतीन हप्ता बन्द गरेर पुनः सञ्चालन गर्न सकिन्छ ।’

१८ वर्षमुनिका बालबालिकाका लागि खोप सञ्चालन गरिरहे पनि विद्यालय बन्द भएकाले व्यवस्थापन केही असहज भएको सचिव पोखरेलको भनाइ छ । केही समय पहिले शीतलहरका कारण तराईमा लगाउन नसकिएको खोप ल्याएर भक्तपुरमा लगाइएको उनले जानकारी दिए ।

अहिले खोप केन्द्रमा भइरहेको भीड व्यवस्थापनमा अरु निकायले पनि ध्यान दिनुपर्नेमा उनको जोड छ । उनले भने, ‘खोप केन्द्रमा रहेका कर्मचारीले खोप लगाउने, दर्ता गर्नेलगायतका काममा लाग्ने भएकाले प्रशासन र स्थानीय तहले भीड व्यवस्थापनमा लाग्नुपर्छ ।’

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले तीन तहको सरकारको अभ्यासमा हामी छौं भन्दै कतिपय सन्दर्भमा प्रदेश र स्थानीय तहबीचमा तालमेल नमिलेर कामले तीव्रता पाउनमा समस्या देखिएको बताए । कतिपय ठाउँमा पुग्दा तथ्याङ्क नमिल्ने पनि पाइएको उनको भनाइ छ । उनले भने, ‘हिजोको तुलनामा अहिले तथ्याङ्क नमिलेको हुनसक्छ ।’

प्रतिक्रिया