

गृहसचिव न्यौपानेलाई कोरोना पुष्टि, डिआईजी बढुवा धकेलियो

काठमाडौं– गृहसचिव महेश्वर न्यौपानेलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। मंगलबार स्वाब परिक्षणका लागि दिएका उनको बुधबार रिपोर्ट पोजिटिभ आएको स्रोतले जनाएको छ।
केही दिनका लागि तराईका विभिन्न जिल्लामा भएको सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी भएका थिए, न्यौपाने।
न्यौपानेसँगै नेपाल प्रहरीका महानिरिक्षक (आईजी) शैलेश थापा, सशस्त्र प्रहरी महानिरिक्षक (आईजी) शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि तराई गएका थिए। तर उनीहरूको स्वाब परिक्षणमा भने रिपोर्ट नेगेटिभ देखाएको छ।
गृहसचिव कम्तिमा १४ दिन होम आइशोलेशनमा बस्ने भएपछि नेपाल प्रहरीका थपिएका र रिक्त प्रहरी नायव महानिरिक्षक (डिआईजीपी)मा बढुवा गर्नुपर्ने काम धकेलिएको छ। बढुवा समितिमा गृहसचिव अध्यक्ष हुने प्राबधान रहेको छ।
यसै साता डिआईजी बढुवाको तयारी गरिएको थियो। ५ डिआईजीका दरबन्दी सरकारले थपेको थियो भने केही रिक्त थिए।

