वन निर्देशकविरुद्ध करिब ७ करोडको भ्रष्टाचार मुद्दा


काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकार, वन निर्देशनालय, धनगढी, कैलालीका निमित्त वन निर्देशक हेम राज बिष्टविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैयाँ बिगो दाबी गर्दै बुधबार बिष्टविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

अख्तियारले गरेको अनुसन्धानका क्रममा बिष्टले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा आर्थिक अनियमितता गरेको देखिएको छ।   उक्त कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समुहका साधारण सदस्यहरु र पदाधिकारीहरुले किर्ते दस्तखत गर्ने, नक्कली वन उपभोक्ता घरधुरी खडा गर्ने र एउटै घरलाई एकभन्दा धेरै वन उपभोक्ता समुहमा सदस्य बनाइ रुख कटान गर्ने गरेको भन्ने विषयमा छानबिन गर्दा भ्रष्टाचार भएको देखिएको अख्तियारले जनाएको छ।

यस विषयमा सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन ब्यवस्थापन अध्ययन उपसमितिले समेत दोषीमाथि छानबिन गरी कारबाही गर्न माग गरेको थियो।

बिष्ट २०५५ वैशाख १७ गते वन सेवाअन्तर्गत सहायक वन अधिकृत राजपत्राङ्कित तृतीय श्रेणी प्राविधिक पदमा सेवा प्रवेश गरेका थिए। २०६८ साल चैतमा सार्वजनिक सेवामा जिल्ला वन अधिकृत राजपत्राङ्कित द्वितीय श्रेणीमा बढुवा वन निर्देशनालय, धनगढी कैलालीमा निमित्त वन निर्देशक पदमा कार्यरत थिए।

बिष्टले २०५५ देखि २०७७ सम्म सिर्जित गरेका सम्पत्ति एवं खर्च तथा लगानीहरुमा गरिएको कूल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरण अनुसार जाँच गर्दा झण्डै ७ करोड अकूत सम्पत्ति आर्जन गरेको देखिएको पनि अख्तियारले जनाएको छ।

प्रतिक्रिया