नारायणहिटीमा बतास समूह कसरी छिर्यो पत्ता लगाउन आज छानबिन समिति बनाउँदै सरकार


काठमाडौँ – नारायणहिटी दरबार संग्रहालयमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा सरकारले छानबिन गर्ने भएको छ। बतास समूहद्वारा नारायणहिटी संग्रहालयको मूल गेटमा सञ्चालित रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का छानबिन गर्न सरकारले आज बिहीबार छानबिन समिति बनाउने भएको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा आज छानबिन समिति गठन गर्ने तयारी छ।

त्यसमा मन्त्रालयकै प्रशासन शाखा प्रमुख टेकनारायण पौडेल, कानुन शाखाका उपसचिव पुरुषोत्तम खतिवडा, लेखाका उपसचिव सूर्यमणि गौतमसहित ५ सदस्य राख्ने प्रस्ताव गरिएको स्रोतले जनाएको छ।

उक्त समितिलाई नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनका लागि ठेक्का दिइएकोबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न भनिने बताइएको छ।

२०७७ पुस १७ गते नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पोखरास्थित बतास समूहको बी म्यानेजमेन्टलाई नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालन गर्न दिन ३ वर्षको ठेक्का सम्झौता गरेका थिए।

तर व्यापारीका मुनाफाका लागि ठेक्का दिइएको भनेर समाचार सार्वजनिक भएपपछि पर्यटनमन्त्री प्रेमकुमार आलेले ठेक्का तत्काल रोक्न निर्देशन दिइसकेका छन्।

 

प्रतिक्रिया