पाकिस्तानले भन्योः भारतले सार्क शिखर सम्मेलनमा अवरोध नगरोस्, आउन नचाहे भर्चुअल जोडियोस्


काठमाडाैँ – पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को १९ औँ शिखर सम्मेलन अवरोध नगर्न भारतलाई आग्रह गरेको छ। भारत भौतिक रुपमा सम्मेलनमा सहभागी हुन नचाहे भर्चुअल माध्यमबाट भए पनि सहभागी हुन पाकिस्तानले आग्रह गरेको छ।

भारत—पाकिस्तानबीचको टकरावले सार्क मृतप्रायः बनेका बेला पाकिस्तानले यस्तो बताएको हो।

‘हामी १९ औँ शिखर सम्मेलन आयोजना गर्न तयार छौँ र यसमा सहभागी हुन भारतलाई निम्तो छ। यदि भारतीय नेतृत्वलाई भौतिक रुपमा शिखर सम्मेलनमा भाग लिन इस्लामावाद आउने इच्छा छैन भने ऊ भर्चुअल माध्यमबाट भए पनि शिखर सम्मेलनमा सहभागी हुनसक्छ। तर, भारतले अरु सदस्यलाई सम्मेलनमा भाग लिन रोक्न भएन,’ इस्लामावादस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीले भने।

विदेशमन्त्री कुरेसीले सार्क निष्क्रिय हुनुमा इस्लामावादमा सार्क शिखर सम्मेलनमा भाग नलिने भारतको हठ जिम्मेवार रहेको आरोप लगाए।

सन् २०२१ भित्र पाकिस्तानले वैदेशिक सम्बन्धमा हासिल गरेको उपलब्धि सुनाउन आयोजित पत्रकार सम्मेलनमा कुरेसीले भारतसँगको सम्बन्धमा कुनै बदलाव नआएको बताए।

दुई साताअघि पाकिस्तान भ्रमणमा गएका सार्क महासचिव एसला विराकुनसँग पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सार्कमा देखिएका ‘कृत्रिम अवरोध’ हटे १९ औँ सार्क शिखर सम्मेलन आयोजना गर्न आफू तयार रहेको बताएका थिए। खानको संकेत सार्कको अर्को सदस्य मुलुक भारततर्फ थियो।

सीमापार आतंकवादलाई पाकिस्तानले बढावा दिएको आरोप लगाउँदै इस्लामावादमा हुने सार्क शिखर सम्मेलनमा आफू सहभागी हुन नसक्ने भारतको अडान कायमै छ। उसले अन्य सार्क सदस्य देशलाई पनि इस्लामावादमा हुने सार्क शिखर सम्मेलनमा भाग नलिन सुझाउँदै आएको छ।

 

प्रतिक्रिया