
देउवाको भारत भ्रमणअघि उत्तराखण्डका गभर्नर किन गए अतिक्रमित नेपाली भूमि नाबी र गुञ्जी गाउँ ?
गभर्नर सिंहले निरीक्षणसँगै स्थानीयसँग छलफल पनि गरे
काठमाडौँ – भारतीय राज्य उत्तराखण्डका गभर्नर गुर्मित सिंहले भारतद्वारा अतिक्रमित नेपाली भूमि नाबी र गुन्जीको शनिबार भ्रमण गरेका छन्। उनले ती क्षेत्रका भारतीय सुरक्षाकर्मी र स्थानीय बासिन्दासँग अन्तर्क्रियासमेत गरेका छन्।
सिंहले शनिबार साँझ ट्विटमा नाबी र गुन्जी लगायत सीमा क्षेत्रको भ्रमण गरेको तस्वीर सार्वजनिक गरेका छन्। सिंह भारतीय सेनाका पूर्व लेफ्टिनेन्ट जनरल हुन्।
उनी गत सेप्टेम्बर १५ मा मात्रै उत्तराखण्डको गभर्नर नियुक्त भएका थिए। नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५, त्यस समयमा प्रकाशित नक्साहरु र ऐतिहासिक तथ्य एवं प्रमाण अनुसार काली ९महाकाली० नदी र सोपूर्वका लिम्पियाधुरा, कुटी, नाबी, गुंजी, कालापानी र लिपुलेकलगायतका क्षेत्र नेपाली भूमि हुन्। तर यी क्षेत्र र गाउँ दशकौंदेखि भारतीय कब्जामा छन्।
राणाकालमा कुटी, नाबी, गुन्जी, छाडरु र तिङ्कर पाँचै गाउँको सिर्दो (मालपोत) उठाउने भनी नेपाल सरकारबाट त्यहाँका जिम्मावाललाई दिएको सनद पत्र सरकारले अध्ययनका क्रममा गतबर्ष जम्मा पारेको थियो। त्यहाँका जनताहरूसँग भएका जग्गाका प्रमाण र तिरो तिरेका रसिदहरू नेपाल सरकारसँग सुरक्षित रहेको सरकारी अधिकारीहरु बताउँछन्।

तिनै नेपाली गाउँको भ्रमण गरेर नेपालसंग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डका गभर्नर सिंहले भारतीय सीमा सडक संगठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उच्च प्रशंशा पनि गरेका छन्।
‘गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीयवासिलाई भेट्न पाउँदा उत्साहित भएको छु’, उनले ट्विटमा भनेका छन।
उनले उत्तराखण्ड राज्य सरकारका तर्फबाट भारतीय सुरक्षाकर्मीलाई जाडोमा लगाउने ज्याकेट समेत वितरण गरेका छन्। भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको उनले प्रशंशा गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी चलिरहंदा भारतीय राज्य उत्तराखण्डका गभर्नरले अतिक्रमित नेपाली भूमिको भ्रमण गरेका छन्। देउवा पुस २५ गते भारतको चार दिने भ्रमणमा जाने तयारीमा छन्।



कागजपत्र |
