
सभामुखले आफ्नो गल्ती नसच्याए राजीनामा दिनुपर्छ : महासचिव पोखरेल
काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद् बैठकमा जारी अवरोध हटाउन सत्ता पक्षले नै भूमिका खेल्नुपर्ने बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलनमा महासचिव पोखरेलले साे कुरा बताउँदै नेकपा एमालेले समाजवादीका सांसदहरूलाई पदमुक्त गर्न माग गरेकोमा सभामुखले चासो नदिएको भन्दै यस घटनामा सभामुखले सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने बताए ।
उनले पुस महिना सुरु भएसँगे एमाले देशव्यापी रुपमा संगठन विस्तारमा केन्द्रित हुने पनि उनले बताए । एमालेमा पुस्तान्तरणबारे उठेको प्रश्नमा उनले एमालेभित्र ८औं महाधिवेशनदेखि नै पुस्तान्तरण सुरु भएको जिकिर गरे । बरु अन्य पार्टीले एमालेको निर्णय पछ्याएको उनको दाबी थियो । १०औं महाधिवेशनमा पनि ४५ प्रतिशत नयाँ सदस्य थपिएकाले एमालेमा पुस्तान्तरण पहिले नै सुरु भएको बताए ।
समाजवादीका सांसदहरूलाई कारबाही गर्नुपर्ने भन्दै नेकपा एमालेले संसद् सचिवालयमा दिएको निवेदन अनुसार कारबाही हुन नसक्दा एमालेले संसद् बैठक अवरद्ध गर्दैआएको छ ।
बुधबारदेखि सुरु भएको संघीय संसद्को दसौं अधिवेशनमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध जारी राखेको छ। दसौं अधिवेशनको पहिलो दिन मंगलबार एमालेले विरोधलाई निरन्तरता दिए पनि सरकारले भने दुई सातअघि जारी गरिएका ६ वटा अध्यादेश संसद्मा पेस गरेको थियो।
सभामुख अग्निप्रसाद सापकोटाले कारबाही गरिएका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले भदौ २३ देखि संसद् अवरुद्ध गर्दैआएको छ।



कागजपत्र |
