
केपिलासगढीमा सञ्चालन हुने जीप तथा बसको भाडा निर्धारण
खोटाङ – केपिलासगढी गाउँपालिकाको केन्द्र बाक्सिला बजारबाट राजधानी काठमाडौँ तथा तराईका विभिन्न जिल्लाका लागि छुट्ने लामो तथा छोटो दूरीको जीप तथा बसको भाडा निर्धारण गरिएको छ । यातायात व्यवसायीले यात्रुबाट यसअघि मनपरी असुल्दै आएको भाडा नियन्त्रण गर्दै आगामी दिनमा यातायात भाडामा एकरुपता ल्याउन गाउँपालिकाले जीप तथा बसको भाडा निर्धारण गरेको हो ।
जीपबाट बाक्सिला–काठमाडौँका लागि एकतर्फी जनही रु दुई हजार ५००, बाक्सिला-कटारी-धरानका लागि रु दुई हजार ७००, बाक्सिला-गाईघाट-धरानका लागि रु दुई हजार ४०० भाडा निर्धारण गरेको छ । यस्तै बाक्सिला–हुर्लुङका लागि रु ६००, बाक्सिला–दिक्तेलका लागि रु ७००, बाक्सिला-थर्पुका लागि रु १००, बाक्सिला-आम्बोटेका लागि रु १५०, बाक्सिला–जालपाका लागि रु ३५०, बाक्सिला-महुरेका लागि रु ७००, बाक्सिला-अर्खौलेका लागि रु ८५०, बाक्सिला-हलेसीका लागि रु एक हजार भाडा निर्धारण गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए ।
यस्तै बाक्सिला-च्यास्मिटारका लागि रु एक हजार ३००, बाक्सिला-जयरामका लागि रु एक हजार ४००, बाक्सिला-हिलेपानीका लागि रु एक हजार ५००, बाक्सिला-घुर्मीका लागि रु एक हजार ६००, बाक्सिला-रसुवाका लागि रु एक हजार ५००, बाक्सिला-गाईघाटका लागि रु दुई हजार, बाक्सिला-बेलटारका लागि रु दुई हजार २०० र बाक्सिला-कटारीका लागि रु दुई हजार १०० भाडा तोकिएको जनाइएको छ ।
बसमा बाक्सिला–हुर्लुङका लागि रु ५००, बाक्सिला-दिक्तेलका लागि रु ६००, बाक्सिला थर्पुका लागि रु १००, बाक्सिला–आम्बोटेका लागि रु १५० र बाक्सिला–जालपाका लागि रु ३०० भाडा निर्धारण गरिएको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको उक्त सडकखण्डमा बसमार्फत लामो दूरीको यातायात सञ्चालन भएको छैन ।
दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले भने अहिलेसम्म यातायात भाडादर निर्धारण गरेका छैनन् । यातायात व्यवसायीले आफूखुशी लागू गरेको भाडादर अस्वाभाविकरूपमा बढी भएको यात्रुहरुले गुनासो गर्दै आएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा अहिले यात्रुवाहक यातायातका साधन सञ्चालन भएका छन् । कच्ची सडक भएका कारण हिउँदभर मात्र सञ्चालन हुने यातायातले स्थानीय बासिन्दालाई सेवा दिए पनि भाडामा ठगिने गरेका छन् ।



कागजपत्र |
