एमालेले अन्तर्पार्टी निर्देशन जारी गर्दै तोके प्रदेश र जिल्ला इन्चार्ज (पुर्णपाठसहित)


काठमाडौं – नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ । १० औँ राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो ।

एमालेले अन्तर्पार्टी निर्देशन (अपानि) जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इन्चार्जहरू पनि तोकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीको समग्र नेतृत्व गर्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मा दिइएको छ ।

एमालेको तेस्रो वरियतामा रहेका उपाध्यक्ष युवराज ज्ञवालीलाई प्रदेश र स्थानीय तह संयोजन गर्ने र अर्की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई राजनीतिक समन्वय संयोजन गर्ने जिम्मा दिइएको छ ।

अर्का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले कूटनीतिक सम्बन्ध र राष्ट्रिय सुरक्षाको जिम्मा पाएका छन् ।

महासचिव शङ्कर पोखरेलले साङ्गठनिक कामको संयोजन गर्ने जिम्मा पाउँदा उपाध्यक्ष विष्णु पौडेलले साङ्गठनिक कामको अनुगमन गर्ने जिम्मा पाएका छन् ।

उपमहासचिव प्रदीप ज्ञवालीले स्कुल विभाग पाउँदा पृथ्वीसुब्बा गुरुङले प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मा पाएका छन् ।

अर्का उपमहासचिव विष्णु रिमाललाई निर्वाचन विभाग र आर्थिक तथा कोष व्यवस्थापन प्रमुख बनाइएको छ । स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई भने अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ ।

प्रतिक्रिया