प्रकाशमान उभिएको ठाउँमा उभिनु मेरो कर्तव्य: विश्वप्रकाश शर्मा


काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासी रहेका विश्वप्रकाश शर्माले पनि सभापतिमा शेरबहादुर देउवालाई सघाउने बताएका छन्।

सामाजिक सञ्जालमार्फत देउवालाई समर्थन गरेको घोषणा गरेका शर्माले आफू नेता प्रकाशमान सिंहको टिमबाट महामन्त्रीको उम्मेदवार भएकाले सिंह उभिएको ठाउँमा आफू पनि उभिने बताए।

अन्तिम समयमा सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका शर्माले लेखेका छन्, ‘सर्वसम्मति सर्वोत्तम! दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु– नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनुभएको ठाउँमा म उभिनुपर्छ! पराजित भएपनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो। सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु।’

यसअघि मंगलबार बिहान देउवासँगको भेटमा सिंहले देउवालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्। देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएकोले आफूले पनि देउवालाई समर्थन गर्ने निर्णय गरेको सिंहले बताएका थिए।

समर्थनबारे जानकारी दिँदै सिंहले भने, ‘देशभरकै बहुमत प्रतिनिधिले देउवालाई नै समर्थन गरेको देखिएको छ। उहाँले यस पटक मलाई हेल्प गर्नुस् भन्नुभएको छ। विधान संशोधनदेखि लिएर कमीकमजोरी सच्याइन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नु भएको छ।’

१४ औं महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा, शेखर कोइराला, सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा थिए। महाधिवेशनका ४ हजार ७ सय ४३ प्रतिनिधिहरूमध्ये ४ हजार ६ सय ७९ मत खसेको थियो। जसमध्ये ७७ मत बदर भएको थियो।

पहिलो चरणमा देउवाले २२५८ मत प्राप्त गरेका छन्। उनले ८२ मतले ५० प्रतिशत कटाउन सकेनन्। कोइरालाले १७०२, सिंहले ३७१ निधिले २५० र गुरुङले २२ मत प्राप्त गरेका छन्। अब सबैभन्दा धेरै भोट प्राप्त गर्ने देउवा र कोइरालाका बीच प्रतिस्पर्धा हुनेछ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात् ५० प्रतिशतभन्दा बढी मत ल्याउनैपर्छ। यदि कसैले पनि ५० प्रतिशत नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ।

कांग्रेसको निर्वाचन समितिले दिउँसो साढे ३ देखि बेलुका साढे ७ बजेसम्म मतदानको कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया