लेनदेन विवादमा युवा संघका नेता श्रेष्ठको हत्या, २ जना पक्राउ


काठमाडौं – राष्ट्रिय युवा संघ नेपाल भक्तपुरका सदस्य राजु श्रेष्ठको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्रेको छ। पक्राउ पर्नेमा दुवैजना साथी रहेका छन्।

पैसा लेनदेनको विषयमा विवाद हुँदा युवा संघका भक्तपुर सदस्य श्रेष्ठको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। २५ लाख रुपैयाँको विवादमा श्रेष्ठको हत्या भएको अनुमान छ।

पक्राउ पर्नेमा भक्तपुरका हेमन्त श्रेष्ठ र मोरङको लेटाङका प्रेम विश्वकर्मा रहेका छन्। राजुबाट २५ लाख रुपैयाँ लिएका हेमन्तले लेनदेन विवादमा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानमा हेमन्तले राजुबाट २५ लाख रुपैयाँ लिएको र केही रकम तिर्न बाँकी रहेका विषयमा लामो समयदेखि दुई पक्षबीच विवाद देखिएको प्रहरीले जनाएको छ ।

हेमन्तले मंगलबार राति पैसा दिन भनेर बालकोट जाने फलामे पुलनजिक बोलाएको र उनका साथी प्रेम विकसहित मिलेर हत्या गरेको बताइएको छ।

‘सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय श्रेष्ठको कुटपिट र धारिलो हतियार प्रयोग गरी हत्या भएको अनुमान छ,’ युवा संघका अध्यक्ष किरण पौडेलले भने।

घर फर्कने क्रममा कुटपिट गरिरहेको स्थानीय मजदुरले देखेपछि प्रहरीलाई खबर गरी प्रहरीकै सहयोगमा श्रेष्ठलाई राति १० बजे उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल लैजाँदा अस्पतालले मृत घोषणा गरेको हो।

पक्राउ परेका उनीहरुलाई पत्रकार सम्मेलन गरेर केहीबेरमा सार्वजनिक गर्ने तयारी भइरहेको छ।

प्रतिक्रिया