कांग्रेस केन्द्रीय सदस्यमा डा. रामशरण थपलियाले उम्मेदवारी दिने


काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा डा. रामशरण थपलियाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्। यही मंसिर २४ गतेदेखि २७ गतेसम्म काठमाडौंमा कांग्रेसको महाधिवेशन छ।

मंसिर २५ मा उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। यसपालि पार्टी केन्द्रीय कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने थपलियाले अनलाइनन्युज७ को कुराकानीमा बताए।

‘केन्द्रीय कार्यसमिति सदस्यमा मेरो उम्मेदवारी रहन्छ,’ उनले भने। उनको पुर्ख्यौली घर धादिङ हो। उनी काठमाडौं क्षेत्र नम्बर ७ का महाधिवेशन प्रतिनिधि समेत हुन्।

उनले पार्टी केन्द्रमा रहेर सेवा गर्ने इच्छा रहेकोले केन्द्रीय समिति सदस्यमा यसपालि उम्मेदवारी दिन लागेको बताए।

यसअघि थपलिया पर्यटन क्षेत्र निकट धेरै संघ–संस्थामा रहेर काम गरिसकेका छन्। नेपाल उद्योग वाणिज्य संघको समेत केन्द्रीय सदस्य रहेका थपलिया संस्थापन इतर समूहनिकट मानिन्छन्।

वरिष्ठ पर्यटन व्यवसायी थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन्। थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र अन्तर्गत The Role of Nepali political parties in democracy Building विषयमा पीएचडी गरेका हुन्।

प्रतिक्रिया