नेपाली कांग्रेस बाग्मती प्रदेश सभापतिमा बानियाँ विजयी


हेटौंडा — नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा शेरबहादुर देउवा पक्षका इन्द्र बानियाँ विजयी भएका छन् ।

आइतबार दोस्रो चरणको मतदानमा बानियाँले अर्का प्रतिस्पर्धी जगदीश्वरनरसिंह केसीलाई पराजित गर्दै बाग्मती प्रदेशको सभापतिमा निर्वाचित भएका हुन् ।

राति सम्पन्न मतगणनाअनुसार सभापतिका प्रत्यासी रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसी पराजित भएका छन् । विजयी बानियाँले १०८५ मत ल्याए भने पराजित केसीले ९२७ मतमात्र पाए । खसेको २०२५ मतमध्ये १३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा कसैको पनि ५० प्रतिशत बढी मत प्राप्त नभएपछि शीर्ष दुई मत ल्याउने केसी र बानियाँबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणको मतदानबाट सबैभन्दा कम मत ल्याएका भीमसेन दास प्रधानले आफू प्रतिस्पर्धाबाट बाहिरिएपछि बानियाँलाई समर्थन गरेका थिए ।

प्रतिक्रिया