
नयाँ नेतृत्वका लागि राप्रपाको मतदान जारी
काठमाडौं – राप्रपाको नयाँ नेतृत्वका लागि मतदान जारी छ । बिहान ८ बजे तय भएको मतदान कार्यक्रम विभिन्न कारणले प्रभावित बनेपछि भर्खरै सुरु भएको जनाइएको छ ।
निर्वाचन अधिकृतका अनुसार उम्मेदवारहरुको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको हो । यता, मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधिहरु आक्रोशित बनेका थिए । मतदान सुरु भएपछि अब भने पालो पाउने आशामा लाइनमा नै रहेका छन् । मतदान ढिला भएपछि उम्मेदवारहरुले भने प्रचार गर्ने समय पाएका छन् । उम्मेदवारहरु लाइनमा उभिएका मतदातासँग भोट माग्नमै व्यस्त देखिएका छन् ।
राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा छन् ।
चार उपाध्यक्षका लागि महिला कोटामा रोशन कार्की र लीलादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । पुरुषतर्फ जगतप्रसाद गौचन, विक्रम पाण्डे, रामचन्द्र राय, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र दुर्गादेवी श्रेष्ठको उम्मेदवारी परेको छ ।
एक महिलासहित तीन महामन्त्रीका लागि रेखा थापा, कुन्तिकुमारी शाही, धवलशमशेर राणा, श्याम तिमल्सिना, भुवन पाठक र भाष्कर भद्राको उम्मेदवारी परेको छ ।



कागजपत्र |
