
आफ्नै श्रीमानको हत्यामा संलग्न दिलकुमारी ७ वर्षपछि थापागाउँबाट पक्राउ
काठमाडौं – नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले श्रीमानको हत्यामा संलग्न एक महिलालाई पक्राउ गरेको छ ।
महाशाखाबाट खटिएको प्रहरीको एक टोली २०७१ साल चैत ९ गते बिहान काठमाडौंको धोबीखोलास्थित सिमिक पुलमुनी टाउकोमा चोट लागेको अवस्थामा फेला परेको एक पुरुषको शवलाई अनुसन्धान गर्दा हत्या गरिएको खुल्न आएकोले उनको हत्याको आरोपमा मृतककी श्रीमती दिलकुमारी सेनलाई मंगलबार पक्राउ गरेको हो ।
उक्त शव दाङ तुलसीपुर नगरपालिका-१०,स्थायी घर भई का.जि.का.म.न.पा-१०, थापागाँउ बस्ने द्रोण बहादुर सेनको भएको खुल्न आएपछि मृतकलाई ईट्टाले टाउकोमा प्रहार गरी कर्तव्य गरी मारी घटना पश्चात फरार रहेका मुख्य अभियुक्त जिल्ला रामेछाप, गोकुलगंगा गाउँपालिका-४, काफ्लेटोल स्थायी घर भएको ५४ वर्षीय भिमे सार्कीलाई मिति २०७७ फागुन ५ गते पक्राउ गरिएको थियो । त्यसपछि उनी थुनामा रहेको पनि प्रहरीले जनाएको छ ।
सोही मुद्दामा फरार रहेकी मृतककी श्रीमती दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं- १० भट्टे स्थायी घर भएकी वर्ष- ५० की सेनलाई मंगलबार महाशाखाका प्रहरी टोलीले काठमाडौं महानगरपालिका वडा न. १० थापागाउँबाटै पक्राउ गरेको जनाइएको छ । उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वर पठाईएको पनि प्रहरीले जनाएको छ ।



कागजपत्र |
