गुडिरहेको बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु


उदयपुर – सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलवबार बिहान मृत्यु भएको छ ।

गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका-५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

घटना त्रियुगा नगरपालिका-६ जलजलेको मोहनपुरको जंगलमा भएको हो । उनी गाईघाटस्थित आफन्तको पुगेर फर्किने क्रममा बसबाट झरेका हुन । त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेका शर्मा चुरोट सेवन गर्ने क्रममा ढोकाबाट झरेको बसका कर्मचारीको भनाइ रहेको छ ।

शर्माको शव पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया