कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनिन्


एजेन्सी – राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेकी छन्।

बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको थियो।

प्रक्रियापश्चात् बाइडनका चिकित्सकले एउटा विज्ञप्ति सार्वजनिक गरेका थिए जसमा उनी स्वस्थ अनि आफ्नो काम गर्नका लागि सक्षम रहेको उल्लेख गरिएको छ।

राष्ट्रपति बाइडनको ७९औँ जन्मदिनको एक दिनअघि उनको चिकित्सकीय परीक्षण गरिएको हो। अधिकारीहरूका अनुसार ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङ्गमा रहेको आफ्नो कार्यालयबाट कार्यसम्पादन गरेकी छन्।

ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन्। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले यस्तो परिस्थितिमा अस्थायी रूपमा अधिकार प्रत्यायोजन गर्नु अभूतपूर्व नरहेको र यो अमेरिकी संविधान अनुरूप रहेको बताएकी छन्।

‘सन् २००२ र २००७ मा राष्ट्रपति जर्ज डब्लु बुस यस्तै प्रक्रियामा संलग्न हुँदा यस्तै गरिएको थियो,’ एक विज्ञप्तिमार्फत उनले भनिन्।
राष्ट्रपति जो बाइडन

ह्वाइट हाउसमा फर्कँदै गर्दा राष्ट्रपति बाइडनको अनुहारमा मुस्कान थियो।’म राम्रो महसुस गरिरहेको छु,’ उनले भने।

अमेरिकी राष्ट्रपतिका रूपमा पदभार ग्रहण गर्ने बाइडन हालसम्म सबैभन्दा बूढा व्यक्ति हुन्। सन् २०१९को डिसेम्बर महिनामा उनको पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रतिक्रिया