

क्रूर विप्लवः घाँटी रेटेर हत्या गरिएको अवस्थामा मिक्लाजुङका शिक्षक श्रेष्ठ

विराटनगर – मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई मंगलबार विहानै विप्लव समूहका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका थिए । त्यसको केहीबेरमै गाउँलेले ठूलो आवाज आएको सुनेका थिए । श्रेष्ठलाई अपरिचित समूहले लिएर गएको र गोली पड्किएको जस्तो आवाज सुनेपछि स्थानीयबासीले खोजी गरेका थिए ।
त्यसक्रममा श्रेष्ठको शव घरबाट केही सय मिटर पर जंगलमा रगताम्ये अवस्थामा भेटिएको थियो । गोली चलेको आवाज पनि सुनेकाले गोली हानेर हत्या गरेको स्थानीयको सूचनापछि प्रहरीले पनि सोही अनुमान गरेको थियो । तर घटनास्थलमा प्रहरी पुगेपछि शवको प्रकृति हेर्दा श्रेष्ठको हत्या घाँटी रेटेर गरिएको पाइएको छ ।
उनको हत्यापछि विप्लव समूहका कार्यकर्ता हवाई फायर गर्दै हिँडेको हुनसक्ने अनुमान छ ।

