

धेरै दलको बैठकमा सहभागी हुँदा मोबाइलमा के हेर्छन् प्रचण्ड?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा सर्वदलीय बैठक डाकेका थिए। सो क्रममा पूर्वप्रधानमन्त्रीको हैसियत तथा सत्तारुढ दलको अध्यक्षका नाताले बैठकमा पुगेका प्रचण्डले खासै मत र विचार राखेनन्।
बरु अरुले विचार राख्ने क्रममा उनी मोबाइलमा व्यस्त रहेका थिए। आईफोन ११ प्रो मोबाइलमा अभ्यस्त उनी के गर्दैथिए? त्यसबारे त धेरैले पत्तो पाएनन्। प्रधानमन्त्री ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्ड अगाडि पट्टी थिए। मोबाइलमा प्रचण्डले के चलाए भन्ने मेसो ठ्याक्कै पत्तो लाउन नसकिएको बैठकमा उपस्थित भन्छन्।
तर, यस्ता बैठकमा सहभागी हुँदा प्रचण्डले अघिपछि केचाहिँ चलाउँछन् भन्ने गज्जबको तथ्य एक जना नेताले खोलेका छन्।
पार्टीका गम्भिरबाहेक केही औपचारिकता पूरा गर्नुपर्ने बैठक जस्तामा प्रचण्ड सहभागी हुँदै आएका छन्। उनले गाम्भिर्यता नदिएका कतिपय बैठकका क्रममा उनी मोबाइलमा नै अभ्यस्त हुने गरेका छन्।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला सरकार समर्थक १९ दलीय मोर्चाको बैठक सातामा कम्तिमा दुई पटक हुने गरेको थियो।त्यसका नेता थिए प्रचण्ड।
त्यसक्रममा बालुवाटार वा सिंहदरबारमा भएका बैठकमा अन्य साना दलका नेताले आफ्ना मत राखिरहेका हुन्थे। तर प्रचण्ड अरुका कुरा सुन्नेतिर भन्दा मोबाइलमा नै ध्याउन्न रहन्थे।
त्यसबेला एउटा दलको सदस्यका रुपमा बैठकमा सहभागी रहेका साना दलका एक जना उपाध्यक्ष भन्छन्,‘सरकारका विषयमा हामी कुरा गरिरहेका हुन्थौं, प्रचण्डले सुनेको या नसुनेको केही थाहा हुँदैन थियो, उनी मोबाइलमा व्यस्त हुन्थे हरेक जसो बैठकमा।’
यो उपक्रम अनेक बैठकमा समेत रहँदै आएपछि ति उपाध्यक्षलाई प्रचण्ड मोबाइल के गर्छन् भन्ने चासो बढेछ। दुई चार पटकपछि मैले केचाहिँ गर्दा रहेछन् भनेर चेक गरेको थिएँ।
उनी भन्छन्,‘अरुका कुराको अर्थ रहँदैन थियो, प्रचण्डले जे भन्यो त्यहि हुन्थ्यो। उनी मोबाइलमा ‘क्यान्डी क्रस’ खेलेर अरुका कुरालाई सुनेको नसुनेझैं गर्दा रहेछन्!’
प्रचण्डले आफूभन्दा साना दलका नेताको कुरालाई खासै वास्ता नगरेको अनुभव गरेका उनी जोड्छन्,‘अन्तिममा आफ्ना कुरालाई राखेर त्यहि निर्णय भन्दै उनी उठेका कयन बैठकमा म सहभागी भएको छु।’

